• Thursday 8th of October 2026

दुबईमा नेपालीले २५ करोडमा खोलेको क्लबमा कन्सर्ट गर्दै मंगालियन हार्ट


  • धनकुटा खबर
  • .

काठमाडौं। केही समयअघिमात्रै अष्ट्रेलिया,दक्षिण कोरिया र पोखरामा आफ्नो प्रस्तुतिमार्फत माहोल तताएको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले अब युएइको दुबईमा वृहत कन्सर्ट गर्ने भएको छ।

युएईस्थित बरदुबईमा करिब २५ करोडको लगानीमा नेपालीले खोलेको नाइट क्लबको उद्घाटनको अवसरमा मंगोलियन हार्टले कन्सर्ट गर्ने भएको हो।

ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाका अनुसार क्लब एस के सेभेनको वृहत उद्घाटनको अवसरमा आगामी शनिबार मे ४ तारिखका दिन प्रस्तुति दिने तय भएको हो। ‘संसारभर नेपालीहरुले विभिन्न माध्यमबाट नेपाली संगीतको प्रवद्धन गरिरहेका छन् ।

बर दुबईमा नेपाली साथीकै लगानीमा ठूलो क्लब खोलिँदा त्यहाँ नेपाली संगीत पनि बज्ने हो। सुरुवात हामीबाटै हुँदैछ,’ म्यानेजर लामाले भने । उक्त क्लबका लगानीकर्ता काठमाडौंका सरोज विष्ट हुन्, जो १३ वर्षदेखि दुबईमा व्यावसायी गर्दै आइरहेका छन्।

गायक राजु लामा ‘फ्रन्ट म्यान’ रहेको यो ब्यान्डले कार्यक्रममा आफ्ना लोकप्रिय पुराना गीतहरु प्रस्तुत गर्ने तयारी छ । युएईमा पछिल्लो एक वर्षमा मंगोलियन हार्टको यो तेश्रो कन्सर्ट हो । युएईमा दर्शकहरुको माग बढी भएका कारण तेश्रो पटक कन्सर्ट भएको हो ।

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖