• Monday 5th of October 2026

६० किलो सुन समाएपछि भागेका चिनियाँ भेटिए भारतीय प्रहरीको हिरासतमा


  • धनकुटा खबर
  • .

६० किलो सुन प्रकरणमा एक जना प्रमुख व्यक्ति भारतीय प्रहरीको हिरासतमा रहेको खुलेको छ।

साउन २ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ‘ब्रेक शु’ राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। जसभित्र ६० किलो ७ सय १६ ग्राम सुन भेटिएको थियो।
सुन बरामद भएपछि नेपालबाट भारत भागेका चिनियाँ नागरिक आसिन भनिने पेङ योङसिनलाई भारतीय प्रहरीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले बतायो।

उनी सुन तस्करीका प्रमुख व्यक्ति मध्येका पर्छन्। उनलाई भारतको सशस्त्र सीमा बल (एसएसबी)ले साउन ३ गते पश्चिम बंगाल सिलिगुढीबाट पक्राउ गरेको थियो।

उनलाई एसएसबीले पक्राउ गरी खरिबारी प्रहरीलाई बुझाएको इन्डिया टुडेले जनाएको छ।

योङसिनमाथि सोधपुछ गर्दा नेपाली नागरिकता देखाएका थिए। तर एसएसबीलाई शंका लागेर चेकजाँच गर्दा उनीबाट चिनियाँ पासपोर्ट र अन्य कागजात बरामद भएको थियो।

चिनियाँ जासुस हुनसक्ने आशंकामा उनीमाथि अनुसन्धान जारी छ।
एक भारतीय अनलाइन मिलिनियम पोष्टले योङसिनले काभ्रे जिल्ला प्रशासनबाट जारी भएको नागरिकता देखाएका थिए। उनीमाथि भारतीय सेनाले समेत अनुसन्धान गरिरहेको उक्त समाचारमा उल्लेख गरेको छ।

उनीमाथि जारी रहेको अनुसन्धान टुंगो नलागेको सूचना सिआइबीले प्राप्त गरेको छ। चिनियाँ नागरिक भएकाले नेपालमा पठाउने हो वा होइन भन्ने यकिन नभएको पनि सिआइबी स्रोतले बतायो।

‘चिनियाँ नागरिक भएकाले हामीलाई दिने हो/होइन यकिन छैन। त्यस खालको सन्धि पनि छैन,’ स्रोतले भन्यो, ‘ल्याउन सजिलो पनि छैन।’
उनकाअनुसार योङसिनले पनि काठमाडौंको टोखामा गोदाम हेर्ने गर्थे। उनी पनि यस ६० किलो सुन प्रकरणमा मुख्य व्यक्तिमध्येका एक देखिएका छन्। यस सुन प्रकरणमा प्रमुख मानिएका दाओजिन वाङका सहयोगीको रूपमा देखिएको स्रोतले बतायो।

सिआइबीले यस सुन प्रकरणको पहिलो चरणको अनुसन्धान सकेर बुधबार काठमाडौं सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
अनुसन्धानको क्रममा ५० जनाको संलग्नता खुलेको सिआइबीले जनाएको छ। तर कतिपयको पूर्ण यकिन हुने ठेगाना समेत नखुलेको हुँदा २९ जनालाई मात्रै प्रतिवेदन कायम गरी अदालतमा मुद्दा पेश गर्न सिआइबीले राय दिएको थियो।

कतिपय चिनियाँ नागरिकबारे जानकारी लिन सिआइबीले इन्टरपोलमार्फत् पर्पल नोटिससमेत जारी गरेको छ। रेडी ट्रेड प्रालिले मात्रै ३६२ किलो सुन तस्करी गरेको सिआइबीको अनुमान छ।

त्यसकै आधारमा सिआइबीले ३ अर्ब ५० करोड २ लाख बिगो मागदाबी गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖