• Wednesday 7th of October 2026

यसरी गर्नुहोस् ग्यास्ट्रिकको घरेलु उपचार


  • धनकुटा खबर
  • .

अव्यवस्थित जीवनशैली र अहितकर खानपानका कारण आजकल धेरैमा ग्यास्ट्राइटिस देखिने गरेको छ । हामीले के खाइरहेका छौँ, कतिवेला खाइरहेका छौँ र खाइसकेपछि कस्तो कार्य गरिरहेका छौँ भन्ने कुरालाई ख्याल गर्नुपर्ने हुन्छ । खानेकुराको गुणस्तर कम भएकाले पनि यस्ता समस्या निम्त्याउने गरेको छ ।

केही कारण
बिहान–बिहान टन्नै पानी पिउने बानी कतिपयमा देखिन्छ, जो गलत छ । त्यस्तै, पेट खाली हुँदा ग्यास बन्छ, केही न केही खाइरहनुपर्छ भन्ने भ्रम पनि कतिपयलाई छ । कतिपय खाना खाएलगत्तै साधन प्रयोग गरी काममा हिँड्ने, कतिपयले खाना खाएपछि एक किलोमिटरजति हिँड्नेजस्ता कार्य पनि गर्छन् । तनावले पनि ग्यास्ट्रिक गराउँछ । निद्रा समुचित नहुँदा पनि ग्यास्ट्रिक हुन सक्छ ।

के गर्ने ?
पानी बिस्तारै–बिस्तारै तिर्खा लागेका वेला पिउनुपर्छ अर्थात् आवश्यकताअनुसार पानी पिउनु राम्रो हो । शरीरको आवश्यकताभन्दा बढी पानी पिउँदा उल्टै समस्या देखिन सक्छ ।

खाना पनि आवश्यकताभन्दा धेरै लिन हुँदैन । भोक लागेका वेला खाना खानु तथा खानासँगै थोरै पानी लिनु राम्रो हुन्छ ।

खानेबित्तिकै लामो समय हिँड्नु स्वास्थ्यका लागि राम्रो होइन । खानेबित्तिकै किलोमिटरको सोचाइमा हिँड्नु, तनावमा रहनु, दुर्व्यवहार गर्नु आदि धेरै कारण वात प्रकोप हुन्छ, जुन ग्यास्ट्राइटिसजस्ता रोगहरूको उत्पत्तिमा प्रमुख कर्ता हुन् । आयुर्वेदमा खाना खाएपछि धेरैमा सय पाइलासम्म हिँड्न निर्देश गरिएको छ, साथै राजावत आसन अर्थात् आराम गर्नुपर्छ ।

घरेलु औषधि
खाना खानुभन्दा पहिले सुप खाँदा खानाप्रति रुचि बढ्छ । खानामा थोरै हिङ प्रयोग गर्न सकिन्छ । सुठोको प्रयोग गर्दा ग्यास्ट्राइटिसका लागि लाभदायक हुन्छ । यसलाई पानीमा उमालेर पनि खान सकिन्छ ।
गाईको शुद्ध घिउ तताएर (न थोरै तातो, न चिसो) एक चम्चा खानामा हालेर खाँदा राम्रो हो । ज्वानोले पनि ग्यास्ट्रिक कम गर्छ । दाललाई जिरा वा ज्वानोले झानेर खाँदा उपयोगी हुन्छ ।

व्यक्तिविशेषअनुरूपको आहार सेवन तथा कार्य सम्पादन गर्नु, आवश्यकताअनुसार उचित समयमा दिनचर्याको पालन गर्ने आदि कार्यले पेटसम्बन्धी समस्यालाई निम्त्याउँदैन ।

समयमै ग्यास्ट्राइटिसजस्ता समस्यालाई आयुर्वेद चिकित्साको विभिन्न माध्यमद्वारा समाधान गर्न सकियो भने अन्य समस्याबाट निश्चय नै बाँच्न सकिन्छ । अतः खानपान तथा जीवनशैलीसम्बन्धी जिज्ञासाहरूमा आयुर्वेदका विज्ञसँग छलफल गर्नु राम्रो हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖