हातखुट्टा झमझमाउँछ के गरौं ? धेरैले सोधिरहेको प्रश्न हो यो । लामो समय एउटै आसनमा बस्दा हात खुट्टा झमझमाउनु सामान्य हो । यद्यपि यस्तो समस्या अरुबेला पनि हुनसक्छ । यस्तो किन हुन्छ ? के यो कुनै रोगको संकेत हो ?
हातखुट्टा झमझमाउने कारण
लामो समय एउटै आसनमा बस्नु
लामो समयसम्म एउटै आसनमा उभिंदा वा बस्दा हातखुट्टा झमझमाउने समस्या हुन्छ । यस्तो अवस्थामा रक्तसञ्चार राम्ररी हुन सक्दैन र दबाब भएको ठाउँमा झनझन महसुस हुन्छ । स्नायु र मेरुदण्डमा अत्याधिक दबाबले पनि झनझन हुन सक्छ । कहिलेकाहीं झमझमाउनु सामान्य भएपनि दिनमा चारपटक नै यस्तो हुन्छ भने चाँडो परीक्षण गराइहाल्नुपर्छ ।
भिटामिन बी र ईको कमी
शरीरमा भिटामिन बी र ईको कमीले स्नायु र शरीरका अन्य अंगहरुलाई असर गर्छ । स्वस्थ शरीरका लागि पर्याप्त पोषक तत्त्वको जरुरी हुन्छ । यसको कमीले शरीरका नसाहरू कमजोर हुने भएकाले झमझमाउने समस्या हुन्छ । यो एक संकेत हो कि आफ्नो आहारमा ध्यान दिनुपर्छ ।
अत्याधिक मदिरा सेवन
मदिराको अत्याधिक सेवनले स्नायु र तन्तुलाई नोक्सान पुर्याउँछ । अत्याधिक मात्रामा रक्सी पिउनाले शरीरमा आवश्यक पोषक तत्त्वहरू जस्तै भिटामिन बी १२ र फोलेट कम हुन्छ । जसकारण स्नायुमा नराम्रो असर पर्छ र हातखुट्टा झमझमाउने समस्या हुनसक्छ ।
थाइराइडको कारण
हाइपोथाइराइडिज्मको समस्या हुने व्यक्तिले पनि हातखुट्टा झमझमाउने समस्या भएको गुनासो गर्छन् । थाइराइडको समस्यालाई नियन्त्रणमा राखिएन भने यो समस्या हुन्छ ।
मधुमेहको कारण
मधुमेहका बिरामीमा हातखुट्टा झमझम हुनु एक लक्षण हुनसक्छ । मधुमेह रोगीको शरीरमा रगतमा चिनी र इन्सुलिन बढ्न थाल्छ, जसले स्नायुमा असर गर्छ । मधुमेह अनियन्त्रित हुँदा बारम्बार यस्तो महसुस हुन्छ । यसैगरी बाथरोगका बिरामी, डिप्रेसन वा एन्जाइटीको समस्या भएकालाई पनि हातखुट्टा झमझझाउने समस्या देखा पर्न सक्छ ।
मिर्गौलामा समस्या हुँदा
मिर्गौलाको समस्या भएका व्यक्तिमा प्रत्यक्ष असर स्नायुमा पर्छ, जसकारण स्नायु कमजोर हुन्छ । मिर्गौला फेल हुँदा पनि शरीरमा केही तरल पदार्थ जम्मा हुन थाल्छ, जसले स्नायुमा नराम्रो प्रभाव पार्छ र हातखुट्टा झमझमाउने हुन थाल्छ ।
रक्तसञ्चार सामान्य नहुँदा
शरीरमा रक्तसञ्चार सामान्य नहुँदा पनि हातखुट्टा झमझमाउन सक्छ । शरीरमा रक्तसञ्चार नहुनु वा अवरोध भएमा यसले स्नायुमा असर पार्छ, जसकारण शरीरका धेरै भागमा अक्सिजन पुग्दैन र हातखुट्टा झमझमाउन सक्छ ।
