काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा दिव्य सः मिलभित्र (काठ मिल) चार जनाको हत्या भएको छ । हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका हुन् । दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेलको परिवारका तीन जनाको हत्या भएको हो । एक जना भने मोरङका हुन् ।
हत्या गरिएका भुजेल सोही काठ मिलमा सुरक्षा गार्डकारूपमा कार्यरत थिए । मिलभित्रै उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेलको पनि हत्या भएको छ ।
त्यस्तै अर्का मृतक भने मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राई हुन् । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।
हत्या घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले २८ वर्षे दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ । उनी तीनकुने नै बस्दै आएका व्यक्ति हुन् । प्रहरीका अनुसार, रक्सीले मातेका राई कपडामा रगत लतपतिएको अवस्थामा भेटिएका थिए । प्रहरीले अहिले उनीमाथि सोधपुछ गरिरहेको छ ।
हत्या प्रकरणको तालिमप्राप्त कुकुरसमेत लगी प्रहरीले अनुसन्धान शुरू गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले घटनाको अनुसन्धान शुरू गरेको हो । अनुसन्धानका क्रममा सबै नाकामा प्रहरी टोली परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।
