• Sunday 4th of October 2026

जेठो छोरा-बुहारीलाई भेट्न तीनकुने पुगेकी थिइन् कुमारकी आमा शुभद्रा


  • धनकुटा खबर
  • .

काठमाडौंको तीनकुनेस्थित दिव्या सःमिलमा शनिबार मध्यरातमा ४ जनाको विभत्स हत्या भयो। हत्या भएका चारमध्ये तीन जना एकै परिवारका हुन्।

सःमिलमा सुरक्षा गार्डको काम गर्ने दोलखाको कालिञ्चोक गाउँपालिका-८ का ५५ वर्षीया कुमार भुजेल, उनकी ४२ वर्षीया श्रीमती अम्बिका भुजेल र कुमारकी ७१ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलबारीका २५ वर्षीय नवीन राईको शनिबार पौने १२ बजे हत्या भएको हो।

हत्या भएकी सुभद्रा श्राद्ध गर्न केहीअघि मात्रै काठमाडौं आएकी थिइन्। उनले गत वर्षको जेठमा श्रीमान गुमाएकी थिइन्।

‘दाइहरू काठमाडौंमै भएको र गोकर्णमा श्राद्ध गर्दा राम्रो पनि हुने भएकाले ठूलीआमा कुशेऔंसी अगाडि काठमाडौं आउनुभएको थियो,’ कुमारका काकाका छोरा (भाइ) मानकाजी भुजेलले भने।

घटनाबारे आफूले पनि बिहान मात्रै थाहा पाएको मानकाजीले बताए।

‘समाचारमा आएपछि मात्रै हामीले थाहा पाएका हौं। बुझ्दा दाइहरू नै हो भन्ने पुष्टि भयो,’ उनले भने।

शुभद्रा काठमाडौं आएर बालुवाटारस्थित माइलो छोराकोमा बसेकी थिइन्। उनी हिजोमात्रै जेठो छोरा बुहारी भेट्न तीनकुने पुगेकी थिइन्।

‘ठूलीआमाले चाँडै गाउँ फर्कन्छु भन्नुभएको थियो, त्यस्तो भएछ,’ मानकाजीले भने।

कुमार करिब ३० वर्षदेखि सोही सःमिलमा कार्यरत थिए। मानकाजीका अनुसार सःमिलका सञ्चालक बालकृष्ण शिवाकोटी पहिले उनीहरूका छिमेकी थिए।

सञ्चालक शिवाकोटी एमाले दोलखाका चर्चित नेता हुन्। मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा उनी तीन सय मतले मात्रै पराजित भएका थिए।

कुमारलाई सःमिलमै बस्ने व्यवस्था थियो। उनी लामो समयदेखि श्रीमतीसहित सोही सःमिलमा बस्दै आएका थिए। जेठो छोरालाई भेटेर गाउँ फर्कने योजनासहित शुभद्रा शुक्रबार तीनकुने गएकी थिइन्। तर मध्यरातमा तीनै जनाको विभत्स हत्या भयो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। दिपेन्द्र र सःमिलमा हत्या गरिएको अवस्थामा फेला परेका नवीन नातेदार हुन्।

सोधपुछकै लागि थप व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको सूक्ष्म अनुसन्धान गर्न प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा समिति गठन गरेको छ।

समितिलाई यथाशिघ्र प्रतिवेदन बुझाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाले निर्देशन दिएका छन्।

अहिले चारै जनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ।-सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖