• Tuesday 6th of October 2026

मानसिक स्वास्थ्य सम्बन्धी केही भ्रम र यथार्थ


  • धनकुटा खबर
  • .

मानसिक स्वास्थ्यले व्यक्तिको सामाजिक र भावनात्मक अवस्थाको बारेमा व्याख्या गर्दछ ।स्वस्थ जीवनयापन गर्न, आफूले चाहेको काम गर्न, जीवनमा खुसी रहन, सम्बन्धहरू प्रगाढ बनाउन, नयाँ परिवेशमा सहजै घुलमिल हुन र जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्नका लागि पनि हाम्रो मानसिक स्वास्थ्य स्वस्थ हुनु पर्दछ ।

व्यक्ति मानसिक रूपमा स्वस्थ भएको खण्डमा यसले जिन्दगीभर नै आइपर्ने समस्या र अप्ठ्याराहरूसँग जुझ्नका निम्ति हामीलाई सहयोग पुर्‍याउँछ ।

हरेक व्यक्तिले अप्ठेरो र समस्याको सामना गर्नुपर्दछ, यो सामान्य कुरा हो । सामना गर्नु भनेको नयाँ अवस्थामा आफूलाई समायोजन गर्न सक्नु र समस्यासँग जुझेर पहिलेझैँ बलियो र सक्रिय रूपमा प्रस्तुत हुन सक्ने क्षमता हो। मानसिक स्वास्थ्यका विषयमा रहेका केही भ्रम र यथार्थ यस प्रकार छन् ।

–मानसिक स्वास्थ्य समस्या थोरै व्यक्तिलाई मात्र हुन्छ
विश्व स्वास्थ्य सङ्गठनका अनुसार, वर्षको कुनै पनि समयमा प्रत्येक चार जनामा एक जनालाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको हुनसक्छ । मानसिक स्वास्थ्य समस्यालाई विश्वमै सबैभन्दा बढी बोझपूर्ण समस्याको रूपमा लिने गरिन्छ । साथै, यो मानिसलाई अपाङ्गताको अवस्थामा पुर्‍याउने धेरै मध्ये प्रमुख कारण पनि हो ।

–मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले काम गर्न सक्दैनन्
मानसिक समस्या भएका व्यक्तिहरूले अवसर र सहयोग पाएमा अन्य व्यक्ति सरह काम गर्न सक्छन् र गरिरहेका पनि छन् । कडा खालका मानसिक समस्यामा मनोचिकित्सक तथा मनोवैज्ञानिक उपचारपछि व्यक्तिले सामान्य र स्वतन्त्र जीवन जिउन सक्छन् ।

–मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू हिंस्रक तथा आक्रामक स्वभावका हुन्छन्

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू स्वयं नै हिंसा र आक्रमणको जोखिममा हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क हेर्ने हो भने प्रत्येक १० मध्ये ९ जना मानसिक समस्या भएका व्यक्ति कुनै न कुनै रूपमा मानव अधिकार हननका घटनामा परिरहेका हुन्छन् ।

–बालबालिका र किशोर किशोरीमा मानसिक स्वास्थ्य समस्या हुँदैन

५० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षको उमेर अगावै सुरु हुन्छ । प्रत्येक ५ मध्ये १ जना बालबालिका तथा किशोर किशोरीमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहने गरेको पाइन्छ ।

–मानसिक स्वास्थ्य समस्या व्यक्तिगत कमजोरीका कारणले हुन्छ

मानसिक स्वास्थ्य समस्या विकास हुनुमा थुप्रै कारकतत्वको भूमिका हुने गर्छ । मानसिक स्वास्थ्य समस्या जैविक, वातावरणीय, सामाजिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा विकास हुन सक्छ ।

–मानसिक स्वास्थ्य समस्या, समस्या नभई बहाना वा नाटक गरेको हो

अनुसन्धानका अनुसार शारीरिक समस्याहरू जस्तै मानसिक समस्या पनि स्वास्थ्य समस्या नै हुन् ।

–मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हामी केही सहयोग गर्न सक्दैनौँ

प्रत्येक व्यक्तिले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको संरक्षण, सम्मान र उपचार विधिमा सहयोग गर्न सक्छ । समस्या भएको व्यक्तिको कुरा ध्यानले सुनिदिँदा मात्र पनि त्यस्तो व्यक्तिलाई धेरै सहयोग हुनसक्छ ।

–मानसिक स्वास्थ्य समस्या कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूलाई मात्र हुन्छ

मानसिक स्वास्थ्य समस्या जुनसुकै आर्थिक अवस्था भएका व्यक्तिलाई पनि हुनसक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖