• Monday 5th of October 2026

रगत लागेको लुगामा ट्याक्सी चढेर आफैँ प्रहरी कार्यालय पुगे दीपेन्द्र राई


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गएराति एकै परिवारका तीनसहित चार जनाको बीभत्स हत्या गरिएको छ।

टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको हो।

सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको हो।

हत्यामा संलग्न आशङ्कामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। राई मृतक नवीनका साथी रहेको प्रारम्भिक रुपमा खुल्न आएको प्रहरीले जनाएको छ। उनी शरीरमा रगत लागेको अवस्थामा ट्याक्सी चढेर आफैँ प्रहरीमा आएको एक अनुसन्धान अधिकृतले बताएका छन्।

बीभत्सरुपमा गरिएको हत्याको कारण खुलिसकेको छैन। प्रहरीले यस घटनामा काविल अनुसन्धान अधिकृत र तालिमप्राप्त कुकुर परिचालन गरेको छ भने सबै नाकामा निगरानी बढाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा घटना अनुसन्धानकै चरणमा रहेकाले सबै कोणबाट अनुसन्धान गरिरहेको बताउँछन्।

घटनाको प्रकृति हेर्दा सामान्य मानिसको हत्या भएकाले ठूलो गिरोह तथा कुनै ठूलो आर्थिक लाभका लागि नभएको निष्कर्ष प्रहरीको छ। रासस

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖