• Thursday 8th of October 2026

फिल्म ‘होस्टेल ३’ मा अनुबन्धित भए यी कलाकार


  • धनकुटा खबर
  • .

निर्माण तयारीमा रहेको नेपाली फिल्म ‘होस्टेल ३’ को प्रमुख भूमिकामा थप तीन जना कलाकारहरू जोडिएका छन्।

यसअघि प्रमुख भूमिकामध्ये एकमा टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट क्रिएटर’ को रूपमा चर्चित ‘कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित भएका थिए।

हालसालै निर्माण टिमले रिहान गिरी, सिम्रन पन्त र पदम तामाङलाई फिल्ममा अनुबन्ध गरेको हो। योसँगै कलाकारहरूको लाइनअप पूरा हुने क्रममा रहेको निर्देशक सशान कँडेलले बताए। उनका अनुसार प्रमुख भूमिकामा अझै दुई कलाकारको जरूरत छ।

यही फिल्मबाट डेब्यु गर्न लागेका रिहान गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को चौथो संस्करणको फाइनलिस्ट समेत हुन्।
त्यस्तै सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन्। उनले केही म्युजिक भिडिओ र एक दर्जन विज्ञापनमा समेत अभिनय गरेकी छन्।

अर्का कलाकार पदम तामाङ भारतको सिक्किमका स्थायी बासिन्दा हुन्। उनी सिक्किममा चर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत परिचित छन्।

निर्देशक कँडेलका अनुसार फिल्म होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनएजर्स र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहनेछ। यस वर्षको अन्त्यतिर रिलिज गर्ने लक्ष्य राखेर काम अगाडि बढेको उनले बताए।

सफल फिल्म ‘होस्टेल’ को दुई शृंखलाबाट उदाएका कलाकारहरू अहिले फिल्म क्षेत्रमा स्थापित छन्। ‘होस्टेल’ बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्स’ बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖