• Tuesday 6th of October 2026

गर्मीमा छालालाई चाहिन्छ विशेष स्याहार, कसरी राख्ने स्वस्थ ?


  • धनकुटा खबर
  • .

काठमाण्डौँ । गर्मीमा छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालाको प्राकृतिक सुन्दरतालाई नष्ट गर्छ र छालालाई फुस्रो बनाउँनुका साथै अनुहारमा चाया पोतो, डण्डिफोर लगाएतका समस्याहरु देखा पर्ने गर्छ । त्यसकारण यो मौसममा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ ।

छालालाई सुन्दर बनाउने भन्दैमा अनुहारमा बजारमा पाईने जस्तो सुकै प्रडक्टहरुको प्रयोग गर्नु अनुहारका लागि निकै नै हानिकारक हुन्छ । हामीले गर्मीयाममा छालाको प्रकार अनुसार छालाको ख्याल राख्नु पर्छ । धुलो, धुँवा र घामले गर्दा छाला डढेर विभिन्न समस्या देखापर्दछ । घामको किरणले छालालाई असर नगरोस भनेर छालाको हेरचाह गर्नु पर्छ ।

छालाको हेरचाह गर्ने उपायहरु:

मौसम अनुसारका ताजा फलफुलहरु खाने
पर्याप्त मात्रामा हरियो सागसब्जी खाने
घाममा निस्कनुभन्दा आधा घन्टा अगाडि सनस्क्रिन लगाउने
दिनभर घाममा निस्कदा तीन– तीन घन्टाको अन्तरमा सनस्क्रिन प्रयोग गर्ने
घरबाट बाहिर निस्कँदा छाता वा क्यापको प्रयोग गर्ने
कम्तिमा ३० एसपीएफ युक्त सनस्क्रिन प्रयोग गर्ने
स्किन टोनर वा गुलाबजलको प्रयोग गर्ने, यसले छालालाई शीतलता प्रदान गर्छ

दिनमा दुई पटक क्लिनजिङ गर्ने
बेलुका सुत्नु अगाडि अनुहारलाई राम्रोसँग धोएर नाइट क्रिम लगाएर सुत्ने
महिनामा दुई पटक फेसियल वा क्लिनजिङ गर्ने
आफ्नो छालालाई सुहाउने फेस प्याक र फेसवासहरु प्रयोग गर्ने
कम्तिमा ६ देखि ८ घण्टा सुत्ने
ब्युटिसियनहरुका अनुसार मानिसको छाला तीन प्रकारका हुन्छन् । फुस्रो छाला, चिल्लो छाला र सामान्य छाला । गुण, अवस्था र प्रकार अनुसार छालाको स्याहार गर्नुपर्ने सुझाव प्राय सबै ब्युटिसियनहरुले दिने गर्छन् ।

१. ड्राइ छालाको हेरचाह

स्किन ड्राइ छ भने घरको भान्छामा पाइने सामग्री प्रयोग गरेर फेस प्याक बनाउन सकिन्छ । सफा पानी र फेसवासले मुख धुने गर्दा छालाको लागि फाइदाजनक हुन्छ । हप्ताको दुई पटक स्क्रबको प्रयोग गर्नु छालाको लागि राम्रो हुन्छ । गर्मी महिनामा शरीरमा पानीको कमी भई डिहाड्रेसन हुने गर्छ, तसर्थ छालालाई मोइस्चराइज्ड राख्नु जरुरी हुन्छ ।गर्मी मौसममा भिटामिन डी भएका क्रिम र फेसवास प्रयोग गर्नु उपयुक्त हुन्छ । ड्राइ स्किनलाई चिल्लो बनाइराख्नु पर्छ । अन्डाको सेतो भाग, कागतीको रस, चन्दन, दही, बेसनको पिठो र बेसारको प्रयोग गरेर पेस्ट बनाएर फेस प्याक बनाई छालामा लगाउदा फाइदाजनक हुन्छ । त्यसैगरी कागती, टमाटर र घ्युकुमारीको रस छालामा लगाउदा उपयुक्त हुन्छ ।

२. चिल्लो छालाको हेरचाह

चिल्लो छालामा पिम्पलले निकै दुःख दिने गर्छ । जसका लागि गर्मियाममा चिल्लो छाला भएकाहरुले कागती र दही मिक्स गरी फेस प्याक बनाएर हप्तामा एक पटक छालामा लगाउँदा फाइदाजनक हुन्छ । यसो गर्दा छालामा प्राकृतिक रुपमा चिल्लोपना कम गर्छ । यसको सट्टा बेकिङ पाउडर र कागतीको मिक्समा पेस्ट बनाएर पनि लगाउन सकिन्छ । चिल्लो छालाको लागि कागती, टमाटर, एलोबेरा, दही र मुलतानी माटो लगाउन पनि उपयुक्त हुन्छ ।

३. सामान्य छाला

सामान्य छाला हुनेहरूका लागि मोस्चराइजर आवश्यक हुन्छ । गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउने, मौसम अनुसारको फलफूल खाने, दैनिक सनब्लक क्रिम प्रयोग गर्ने, हप्तामा एक दुई पटक फेस प्याक लगाउने र फेसियल गर्ने गर्दा छालाको लागि फाइदाजनक हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖