• Friday 9th of October 2026

विश्वकपमा बलियो छाप छोड्न चाहन्छ नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर ८ को सम्भावना बंगलादेशको आफ्नो हातमा छ । किनकि उसलाई एउटा जित मात्र चाहिएको छ ।

बंगलादेश त्यो अवस्थामा मात्र अघिल्लो चरणमा पुग्न सक्दैन, जब आफ्नो खेल हार्छ, अनि नेदरल्याण्ड्सले श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्छ ।

अहिलेसम्मको अवस्थामा समूह डीमा बंगलादेश दोस्रो उत्कृष्ट टिम हो, त्यसैले अघिल्लो चरण पुग्नेमा विश्वस्त छ ।

शीर्ष क्रमको ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक छैन, तर मध्य क्रमका ब्याट्सम्यान र बलरहरूले टोलीलाई त्यो आत्मविश्वास दिएका छन् ।

लेग स्पीनर ऋशाद हुसेन सरप्राइज प्याकेज हुन्, जसले यो प्रतियोगितामा ७ विकेट लिइसकेका छन् । उनले अक्सर महत्वपूर्ण विकेट लिएका छन् र उनको कुशल बलिङले बंगलादेश टिमको आत्मविश्वास बढाएको छ । तीव्र गतिका बलर तस्कीन अहमद, मुस्तफिजुर रहमान र तजीम हसन पनि ब्याकबोन हुन् ।

तर नेपालले यो खेल सहजै बंगलादेशलाई दिने छैन । सुपर ८ को होडबाट बाहिरिसकेको नेपाल अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेर टी–२० विश्वकप २०२४ मा बलियो छाप छोड्न चाहन्छ ।

‘हामी बलियो इतिहास निर्माण गर्दैछौं, त्यसैले अरूको बिगार्नेबारे सोचिरहेका छैनौं’ नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई भन्छन्, ‘हामी ३ अंकबारे सोचिरहेका छौं । कम्तिमा हामी जितको साथ गर्वको क्षण लिएर फर्कनेछौं ।’

यसका लागि नेपाल भने जित्दा जित्दै दक्षिण अफ्रिकाविरुद्ध हारेको पीडा भुलेर मैदान उत्रिनुपर्नेछ । ११६ रनको लक्ष्य पछ्याएको नेपाल १८औं ओभर सुरु हुँदासम्म खेलमा हाबी थियो । त्यो ओभरमा दक्षिण अफ्रिका खेलमा फर्कियो ।

यथापि अन्तिम एक बलमा दुई रन चाहिएको अवस्थामा पनि नेपालले जित्न सक्थ्यो । तर गुल्सन झा रन आउट भएपछि नेपाली समर्थक स्तब्ध बन्न पुगे ।

यो हारले पीडा मात्र दिएको छैन, शीर्ष टीमविरुद्ध उत्कृष्ट प्रदर्शनका लागि आत्मविश्वास पनि दिएको छ । कुशल भुर्तेल (४) र दीपेन्द्र सिंह ऐरी (३) ले दक्षिण अफ्रिकाको ७ विकेट लिएका थिए भने आसिफ शेखले ४२ रन हानेका थिए ।

अर्थात् नेपालसँग जितको क्षमता चाहिं छ । ‘दक्षिण अफ्रिका छनोट भइसकेको थियो, हामीले यो प्रतियोगितामा केवल आफ्नो क्षमता देखाउन र खेलमा जीवित रहन आवश्यक थियो’ मुख्य प्रशिक्षक देसाई भन्छन्, ‘नेपाल जस्तो युवा खेलाडी भएको एसोसियट टोलीको मानसिक बलको परीक्षा यहीँबाट हुनेछ ।’

बंगलादेशका फास्ट बलर तान्जिम हसनले नेपाललाई हलुका रूपमा नलिएको बताएका छन् । ‘टी–२० मा सानो र ठूलो टिम भन्ने नै छैन । सबै टिम उत्तिकै अब्बल छन्’ उनले भने, ‘हामी हाम्रो लयमै रहेर आक्रमक खेल खेल्नेछौं ।’

नेपाल र बंगलादेशको खेल नेपाली समयअनुसार सोमबार बिहान ५ः१५ मा किङ्ग्सटनमा हुनेछ । यो खेलमा मुख्य प्रतिस्पर्धा बंगलादेशका मध्यक्रमका ब्याट्सम्यान र नेपालका स्पीनरहरूको बीचमा हुनेछ । बंगलादेशका तीव्र गतिका बलरहरूले नेपाली ब्याट्सम्यानमा रहेको अनुभवीको कमीको पनि फाइदा उठाउन सक्छन् ।

जितका साथ प्रतियोगिता टुंग्याउन चाहेको नेपाल र सुपर ८ का लागि दुई अंक चाहिएको बंगलादेशको यो खेलमा रोमाञ्चकतासँगै कडा प्रतिस्पर्धा अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖