• Thursday 8th of October 2026

फ्रान्समा नतिजा उल्ट्याउँदै वाम गठबन्धनको अग्रता


  • धनकुटा खबर
  • .

पेरिस । फ्रान्सको संसदीय निर्वाचनमा आश्चर्यजनक नतिजा आउने सम्भावना छ । पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी राष्ट्रिय र्‍याली पार्टी पछिल्लो अनुमानमा आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको देखिन्छ।

वामपन्थी र मध्यमार्गी पार्टीहरूबिच भएको रणनीतिक सहमतिका कारण यो सम्भव भएको हो । एक साताअघि पहिलो चरणमा दक्षिणपन्थी राष्ट्रिय र्‍याली (आरएन) पार्टीले अग्रता लिए पनि अहिले दोस्रो चरणमा न्यू पपुलर फ्रन्ट (एनएफपी) ले सबैभन्दा बढी मत ल्याउने देखिन्छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनको मध्यमार्गी पार्टी एन्सेम्बल एलायन्स दोस्रो स्थानमा आउने अनुमान गरिएको छ। तर, कुनै पनि गठबन्धनले आफ्नै बलमा बहुमत ल्याउन सक्ने अवस्था छैन ।

अबको प्रधानमन्त्री को हुने हो भन्ने स्पष्ट भइसकेको छैन तर म्याक्रोनको पार्टीका वर्तमान प्रधानमन्त्री गेर्बियल अट्टलले राजीनामा दिने बताएका छन् । यस सम्भावित ठूलो अप्ठ्यारोको एउटा प्रमुख कारण धेरै वामपन्थी र केन्द्रवादी उम्मेदवारहरूले अति दक्षिणपन्थी राष्ट्रिय र्‍यालीको विरुद्धमा मतदाताहरूबिच विभाजन हुन नदिन चुनावी दौडबाट पछि हटेका थिए।

वामपन्थी फ्रान्स अनबाउड पार्टीका नेता जीन-लुक मेलेनचोनले एनएफपीको सम्भावित विजयलाई अति दक्षिणपन्थीहरू विरुद्धको जीत र म्याक्रोनको एजेन्डाको हार भनेका छन् । मेलेनचोनले राष्ट्रिय र्‍यालीविरुद्ध व्यापक परिचालनको प्रयासको प्रशंसा गरे।

मध्य पेरिसको प्यालेस डे ला रिपब्लिकमा वामपन्थी समर्थकहरूले विजय र्‍याली गरिरहेका छन्। राष्ट्रिय र्‍यालीका नेता जोर्डन बर्डेलाले ‘बेइमानहरूको गठबन्धन’ ले आफ्नो पार्टीलाई सत्ताबाट धकेलेको र फ्रान्सलाई कट्टरपन्थी वामपन्थीको हातमा राखेको बताए।

स्पेनका वामपन्थी प्रधानमन्त्री पेड्रो सान्चेजले यी प्रवृत्तिहरूलाई स्वागत गरे र फ्रान्सले अति दक्षिणपन्थीहरूलाई अस्वीकार गरेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖