भोलि (बुधबार) देखि भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालनमा आउने भएको छ।
त्यसका लागि अहिले सडकमा धमाधम डेडिकेटेड लेन बनाउने काम भइरहेको छ।
संविधान दिवसको दिन उद्घाटन गर्ने गरी सडक विभागले रातो रङ पोतेर छुट्टै लेन बनाइरहेको छ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार भोलि उद्घाटन हुने र पर्सिबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने छन्।
यी बस गुड्नका लागि अहिले सडकका दुबै भागमा छुट्टै लेन बनाउने कार्य भइरहेको छ।
पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन पाइने छैन। यद्यपि एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ।
कार्यालय समयमा अत्याधिक जाम हुने हुने कुरालाई मध्यनजर गर्दै द्रुत बस सेवा सञ्चालनमा ल्याउन लागिएको पनेरू बताउँछन्।
‘कार्यालय समयमा सूर्यविनायकदेखि रत्नपार्क पुग्नलाई डेढ घन्टासम्म लाग्ने रैछ। हाम्रो लक्ष्य ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्क पुर्याउने छ,’ उनले भने, ‘त्यसका लागि यात्रु चढाउने र ओराल्ने निश्चित ठाउँहरू तोकिएको छ र यस्ता बसहरूले यात्रु कुरेर बस्दैन। ३० सेकेन्डभित्र यात्रुलाई चढाउने र ओराल्ने काम हुन्छ।’
नेपाल यातायात व्यवसायी महासंघसँगको सहकार्यमा २५ वटा बस चलाउन लागिएको हो। द्रुत बस सेवाअन्तर्गत चल्ने बसहरू छुट्टै हुँदैनन्। यो रूटमा यसअघि चल्ने ठूला बसहरूलाई नै चलाइने छ। यद्यपि यात्रुलाई यी बसहरू ठम्याउन सजिलो होस भनेर बसको अगाडि भागमा द्रुत बस सेवा भनेर लेखिने पनेरू बताउँछन्।-विवेक राई/सेतोपाटी
