• Sunday 4th of October 2026

पुरूषको भन्दा महिलाको घुँडाको हड्डी किन धेरै खिइन्छ?


  • धनकुटा खबर
  • .

डा. सुमनबाबु मरहट्टा

पुरूषको भन्दा महिलाको घुँडाको हड्डी धेरै खिइने अध्ययनहरूले देखाएका छन्। पुरूषको तुलनामा महिलाको घुँडाको जोर्नीको हाड दुईदेखि पाँच गुणासम्म धेरै खिइन्छ।

मैले अहिलेसम्म ६ सयदेखि ७ सय जनामा घुँडाको जोर्नी प्रत्यारोपण गरेको छु। त्यो तथ्यांकलाई आधार मान्ने हो भने पनि ६० देखि ७० प्रतिशत महिलाको घुँडाको जोर्नी प्रत्यारोपण गरेको छु।

महिलाको शारीरिक बनावटले नै घुँडा खिइने पहिलो कारण भएको पाइएको छ। महिलाहरूमा हुने एस्ट्रोजन हर्मोनको कारण सामान्य हिँडडुल गर्दा र खेलकुद गर्दा चोटपटक लाग्ने सम्भावना धेरै हुन्छ। त्यो चोटपटकले कालान्तरमा घुँडा खिइने सम्भावना हुन्छ। धेरै हिल लगाउने र लामो समयसम्म उभिने महिलाहरूको समेत घुँडा खिइने समस्या देखिएको छ।
पुरूषहरूमा पनि उमेरका कारण हड्डी खिइन्छ। तर महिलाहरूको महिनावारी सुक्दै गएपछि एस्ट्रोजन हर्मोन कम हुँदै जाने भएकाले घुँडा धेरै खिइन्छ। नेपालमा धेरै महिलाको उचाइको तुलनामा तौल धेरै भएको पाइएको छ। यसले गर्दा घुँडामा धेरै भार पर्छ अनि घुँडा खिइन्छ ।
अर्को कुरा, महिलाहरूले धेरै भारी बोक्ने, बसेर काम गर्नुपर्ने भएकाले घुँडामा धेरै भार पर्छ। यसले गर्दा पनि यो समस्या देखिएको छ।
घुँडाको जोर्नी जोगाउन के गर्ने?

शरीरको तौल घटाउने, स्वस्थ आहारविहार लिने जस्ता कुराले जोर्नी स्वस्थ राख्न मद्दत गर्छ। यसका साथै घुँडाको समस्या हुने मानिसले धेरै उकालो-ओरालो गर्नु हुँदैन। पलेँटी कसेर बस्ने काम गर्नु हुँदैन।
घुँडा वरिपरिको मासु बलियो भएको खण्डमा घुँडालाई भार कम पर्छ। त्यसैले नियमित कसरत गरेर दुखाइ र खिइने प्रक्रिया कम गर्न सकिन्छ। जोर्नी जोगाउन विभिन्न खालका भिटामिन र क्याल्सियम लिन सकिन्छ।

कस्तो अवस्थामा घुँडाको जोर्नी प्रत्यारोपण गर्ने?
घुँडा खिइनेबित्तिकै सबैलाई प्रत्यारोपण गर्नुपर्छ भन्ने हुँदैन। घुँडा खिइएको अवस्थालाई हामीले जाँचेर हेर्दा प्रत्यारोपण गर्नुपर्ने वा नपर्ने भन्ने थाहा हुन्छ।

दिनरात दुख्ने, उकालो-ओरालो गर्न एकदमै कठिन हुने, कतिपयलाई ह्विलचेयरमै हिँड्नुपर्ने हुन्छ। विभिन्न खालका उपचार र थेरापी गर्दा समेत निको भएन भने घुँडाको प्रत्यारोपण गरिन्छ।

नेपालमा धेरै मान्छेलाई घुँडा प्रत्यारोपण गरेर राम्रो हुँदैन भन्ने आशंका पनि छ। तर नेपालमा घुँडा प्रत्यारोपण गर्ने संख्या दिनप्रतिदिन बढ्दो छ।
घुँडा प्रत्यारोपण गरेपछि पहिलाकै जस्तो हुन्छ भनेर भन्न सकिँदैन। हिँडडुल गर्न सजिलो हुन्छ भने दुखाइ कम हुन्छ। त्यसपछि ८० प्रतिशतसम्म समस्या समाधान हुन्छ।

(हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण सर्जन डा. सुमनबाबु मरहट्टा निजामती कर्मचारी (सिभिल) अस्पताल र स्टार अस्पतालमा कार्यरत छन्।)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖