काठमाडौं । दुई साताअघि त्रिशूलीमा हराएका बस खोज्ने प्रयास निरन्तर चलिरहेको छ । तर, अहिलेसम्म भेटिएको छैन ।
अब बसको खोजीको लागि भारतबाट आएका खोजी टोलीले आज म्याग्नेट प्रयोग गरेर खोजीको अन्तिम प्रयास थालेका छन् ।
चार जना गोताखोरसहित आएका १२ जना भारतको राष्ट्रिय विपद् रेस्पोन्स टीमका टोली सात दिनको लागि भनेर खोजी कार्यमा सहयोग गर्न चितवन आएका थिए ।
यसअघि भारतीय टोलीले ३ वटा सोनार क्यामेरा ल्याएर खोजी गरेको थियो । भारतीय टोलीले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर सिमलतालदेखि करिब ३० किलोमिटर पर काभ्रेघाटसम्म सोनार क्यामेरा डुबाएर बस र यात्रुहरूको खोजी गरिरहेको छ ।
आज ४० किलोको म्याग्नेटिक डिभाइस ल्याएर अन्तिम खोजी प्रयास गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । म्याग्नेटिक डिभाइस पानीभित्र डुबाएर खोजी गरिँदै छ ।
अहिलेसम्म केही प्रगति नभएपछि भारतीय टोलीले उतैबाट म्याग्नेटिक डिभाइस मगाएका हुन् । उक्त डिभाइसले पानीमूनी भएको बस्तुलाई पहिचान गर्न सजिलो हुन्छ ।
असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए ।
