• Tuesday 6th of October 2026

यस्ता छन् रूख कटहर खानुका फाइदा


  • धनकुटा खबर
  • .

अहिले हामी बजारमा रूख कटहर धेरै देख्छौं। मौसमी फलफूल भएता पनि तुलनात्मक रूपमा अन्य फलफूलको तुलनामा रूख कटहर सस्तो पनि हुन्छ।

आइतबार कालीमाटी बजारमा रूख कटहरको थोक मूल्य प्रतिकिलो ४० देखि ५० रूपैयाँ छ।

व्यवसायी भाइ कान्छा रोक्काका अनुसार रूख कटहर खाने मौसम असारदेखि साउनसम्म हुन्छ। कालीमाटी बजारमा अहिले रूख कटहर काभ्रे र रामेछाप जिल्लाबाट आइरेहको छ।

रूख कटहरको माग कम हुने भएकाले यो सस्तो हुने उनको भनाइ छ।
‘गाउँघरमा खाएकाले यहाँ खोज्ने हुन्। सहरमै हुर्के बढेकाले कमै खान्छन्,’ उनले भने।

उनका अनुसार यहाँ गाउँघरदेखि रूख कटहरको स्वाद पाएका सीमित व्यक्तिले मात्रै किन्ने गरेका छन्। सहरमा हुर्केका अधिकांशले रूख कटहर चिनेका छैनन्। रूख कटहर खान झन्झटिलो भएकाले पनि धेरैको रोजाइमा पर्दैन।

हाल उपभोक्ताले रूख कटहर प्रतिकिलो ५० देखि ६० रूपैयाँमा पाइरहेका छन्।

पोषणविद् प्रकृति बिस्टका अनुसार रूख कटहर बहुगुणी फलफूल हो। यसको फल र दाना दुबैमा प्रशस्त भिटामिन पाइन्छ।

यसमा भिटामिन सि, बि–६, फोलिक एसिड, पोटासियम, क्याल्सियम, फाइबर र एन्टिअक्सिडेन्ट लगायतका पोषण तत्व पाइने पोषणविद् प्रकृति बिस्टले जानकारी दिइन्।

उनका अुनसार यसमा फाइबर, पोटासियम र एन्टिअक्सिडेन्ट हुन्छ, यसले कोलेस्ट्रोललाई घटाउन मद्दत गर्ने भएकाले मुट स्वास्थ्य हुन्छ। कब्जियत भएकालाई पनि यसले पाचन प्रक्रियामा पनि सहजीकरण गर्छ।

त्यस्तै, कटहरमा मिनरल्स र पोटासियम हुने भएकाले मधुमेह घटाउन पनि यसको ठूलो महत्त्व हुन्छ। यसमा भरपुर मात्रामा क्याल्सियम हुने भएकाले हाडजोर्नी बलियो बनाउँछ।

कटहरमा चिल्लो पदार्थ एकदमै कम हुने भएकाले तौल घटाउन फाइदाजनक मानिन्छ।

बहुगुणी फलफूल भएता पनि यो किड्नीका बिरामीले भने यो एकै पटक धेरै खान नहुने उनले सुझाव दिइन्।

उनका अनुसार स्वास्थ्य व्यक्तिले एक पटकमा एक सयदेखि एक सय ५० ग्राम कटहर खान सकिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖