काठमाडौँ — फिल्म प्राविधिक अनवर मिया खानको निधन भएको छ । क्रेन अपरेटरका रूपमा लामो समय फिल्म क्षेत्रमा काम गरेका खानको ५५ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
‘नेपालमा पहिलो पटक क्रेन अपरेटरको जिम्मा सम्हालेका थिए । त्यसपछि उनीसँग सिकेर अरु आए । क्रेनको जमानामा उनी नै जल्दाबल्दा थिए,’चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । मुम्बई घर भई काठमाडौंमा बस्दै आएका उनी डेरामै मृत फेला परेका हुन् ।
प्राविधिकलाई आपत् पर्दा फिल्मकर्मी र राज्यले साथ दिन नसकेको पुष्करको भनाइ छ । ‘यस्तो लामो समय फिल्म क्षेत्रमा बिताएका प्राविधिक बित्दा पनि कसैको साथ हुँदैन,’लामाले भने । खानले ज्वाला, सौभाग्यलगायतका दर्जन बढी फिल्ममा क्रेन अपरेटरिङ सम्हालेका थिए ।
खानका श्रीमतिसहित दुई छोरी र छोरा छन् । शारीरिक रूपले कमजोर बन्दै गएपछि पछिल्लो समय दैनिक गुजाराका होटल खोलेका थिए ।
