एजेन्सी । ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । शुक्रबार राति भएका क्वाटरफाइनलका खेलहरूबाट अन्तिम ४ टिमको तय भएको हो । सेमीफाइनल पुग्ने चार टोलीमा मोरक्को, स्पेन फ्रान्स र इजिप्ट रहेका छन् । शुक्रबार भएको खेलमा मोरक्कोले अमेरिकालाई ४-० ले हराएको थियो भने जापानलाई स्पेनले ३-० ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
त्यस्तै, क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा धकेलिएको इजिप्ट र पाराग्वेबीचको खेलमा इजिप्ट सेमिफाइनल प्रवेश गर्यो । उसले पाराग्वेलाई ५-४ ले पराजित गरेको हो । ७१ औं मिनेटमा अग्रता लिएको पाराग्वेले ८८ औं मिनेटमा इब्राहिम अदिलको गोलमा अग्रता गुमाउन पुग्यो ।
त्यसपछि अतिरिक्त समयमा पनि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा इजिप्टका सबै पाँच खेलाडीले गोल गर्दा पाराग्वेका एक खेलाडीको प्रहार गोलरक्षकले बचाएका थिए ।
त्यस्तै शुक्रबार भएको दिनको अन्तिम खेलमा घरेलु टोली फ्रान्सले अर्जेन्टिनालाई १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । खेल सकिएपछि विवाद भएको खेलमा फ्रान्सले पाँचौं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो ।
अधिकांश समय अर्जेन्टिनाले खेल नियन्त्रणमा राखेको भएपनि गोलका अवसर चुकाउँदा क्वाटरफाइनलबाट बाहिरिन अर्जेन्टिना बाध्य भयो । खेलको अन्तिम समयमा फ्रान्सले अग्रता दोब्बर बनाएपनि भिएआरले उक्त गोललाई मान्यता दिएन ।
अब फाइनल प्रवेशका लागि फ्रान्सले इजिप्टको सामना गर्नेछ भने स्पेन र मोरक्को भिड्ने छन् । सेमिफाइनल खेल सोमबार राति हुनेछ ।
