काठमाडौं । नवलपुरमा नेपाली सेनाका एक जवानले आत्महत्या गरेका छन्। कावासोती नगरपालिका– ७ बाँदरझुलास्थित नयाँ गोरखगण ‘ख’ गुल्म अमलटारी सेक्टरमा रहेको बाँदरझुला पोष्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारले आत्महत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आज दिउँसो साढे १२ बजे मिजारले आफैँले बोकेको मिनी गनबाट घाँटीमा गोली चलाउँदै आत्महत्या गरेका हुन्।
उनले पोष्टको कोतघरमा रहेको ५.५६ एमएमको मिनी गनले आफ्नै घाँटीमा गोली हानेको प्रहरीले जनाएको छ।
धादिङको गल्छी गाउँपालिका– ४ घर भएका मिजारको श्री गोरखगण कसरामा दरबन्दी थियो। भने हाल नयाँ गोरख गण ‘ख’ गुल्ममा कार्यरत थिए।
प्रहरी अहिले घटनास्थलमा रहेको र घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए। पौडेलका अनुसार अहिले घटनास्थलमा घटनाको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।
