• Thursday 8th of October 2026

३७ वर्षपछि नेपाली महिला भलिबल टोलीले रचेको इतिहास


  • धनकुटा खबर
  • .

नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको ३७ वर्ष भइसक्यो।

सन् १९८७ मा थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेको नेपाली महिला भलिबल टोलीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

सन् २०१९ मा नेपाली महिला भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो। पहिलो उपाधि जित्ने क्रममा नेपालले सेन्ट्रल जोन भलिबल एसोसिएसन (काभा) वुमभ्स च्यालेन्ज कप जितेको थियो। सन् २०२१ मा पनि नेपालले यो प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भयो। दुवै प्रतियोगितामा दक्षिण एसियाको पावर हाउस भारत भने सहभागी थिएन। भारतले काभाभन्दा माथिल्लो स्तरको प्रतियोगिता खेल्थ्यो।

२०२३ मा भने नेपाल तेस्रो स्थानमै सीमित हुन पुग्यो। किनभने सन् २०२३ मा भारतसहित काजकिस्तान जस्ता बलिया टोली काभामा सहभागी भए।
काभामा प्रतिस्पर्धा गर्नुअघि नेपालले प्रतिस्पर्धा गर्ने ठूलो प्रतियोगिता दक्षिण एसियाली खेलकुद (साग) थियो। सागमा नेपालले सन् १९९९ देखि प्रतिस्पर्धा गर्न थालेको थियो। पहिलो सहभागितामै नेपाली महिला भलिबल टोलीले कास्य जितेको थियो।

सुरुमा सागमा नेपालका लागि बलिया प्रतिद्वन्द्वी भारत र श्रीलंका थिए। एक दशकमा नेपालले श्रीलंकालाई हराउन थाले पनि भारतलाई पराजित गर्न भने नेपाललाई निकै गाह्रो पर्ने गर्थ्यो। जसका कारण नेपालले सन् २०१० र २०१९ को साग गेम्समा राजतमै चित्त बुझाउन परेको थियो।
विश्व खेलकुदमा आफ्नो प्रभाव बढाइरहेको भारतको कुनै पनि टोलीलाई पराजित गर्नु नेपालका लागि सहज भने होइन।

कम श्रोत र सुविधाका बावजुत पनि नेपाली खेलाडीले कतिपय खेलमा भने भारतलाई टक्कर दिँदै आएका छन्। पछिल्लो समय महिला भलिबलमा नेपालले भातरलाई टक्कर दिँदै आएको छ।

सन् २०१९ मा घरेलु मैदानमा भएको साग गेम्समा नेपालले भारतीय महिला भलिबल टोलीलाई निकै टक्कर दिएको थियो। तर अन्तिममा सम्हालिन नसक्दा नेपाली टोली ३-२ को सेटमा पराजित भएको थियो।
पछिल्लो पटक नेपालले भारतसँग सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेको थियो। समूह चरणमा भियतनाम र दक्षिण कोरिया पराजित भएपछि वरीयताका लागि भएको खेलमा नेपालले भारतसँगको खेल ३-१ ले गुमाएको थियो। त्यसपछि हङकङसँगको खेल ३-० ले गुमाए पनि नेपालले मंगोलियालाई ३-० कै सेटमा हराएर ११औं स्थान हात पारेको थियो। एसियाली खेलकुदमा १३ महिला टोलीले भाग लिएका थिए।

एसियाली खेलकुदमा नेपालले आफ्नो अनुभव बटुलेको थियो। नेपालको मुख्य लक्ष्य काभा बलिङमा उत्कृष्ट खेल्नु हो। जसमा नेपालले घरेलु मैदानमा सुरू भएको प्रतियोगितामा राम्रो सुरुवात गरेको छ।
पहिलो खेलमा श्रीलंकामाथि ३-० को सहज जित निकालेको नेपालले शनिबार ऐतिहासिक जित निकाल्न सफल भयो। नेपालले भारतलाई पहिलो पटक हराउने क्रममा ३-२ को सेटमा खेल जित्यो। साग गेम्सको सर्वाधिक सफल टोली भारतमाथि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको ३७ वर्षपछि जित निकालेको हो।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले पहिलो सेट २५-१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५-१२ ले जितेसँगै खेल १-१ को स्थितिमा आयो। तेस्रो सेटमा नेपालले २५- १७ ले जित्यो भने चौथो सेटमा भारत २५-१८ ले विजयी भयो। निर्णायक पाँचौ सेट १५-१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकाल्यो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖