• Tuesday 6th of October 2026

धनगढीको सिपी अस्पतालले अपरेसन गराउन बिरामीलाई भ्रममा पार्‍यो


  • धनकुटा खबर
  • .

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित सिपी अस्पतालले बिरामीलाई भ्रममा पर्ने गरेको तथ्य फेला परेको छ। अस्पतालले बिरामीलाई भ्रममा पारेर शल्यक्रिया (अपरेसन) गर्न लगाउने गरेको तथ्य फेला परेको हो।

असार २७ गते धनगढीकी ३३ वर्षीया एक महिला कम्पर दुखेपछि सिपी अस्पतालमा गइन्। त्यसपछि अस्पतालका डाक्टरले अल्ट्रासाउण्ड गराउन सुझाए। अल्ट्रासाउण्ड गराउँदा सुरुमा १० एमएमको स्टोन रहेको रिपोर्ट बिरामीलाई देखाए। औषधि पनि दिए।

औषधि खाएपछि झन दुखाइ भएपछि फेरि उनी सिपी अस्पतालमै गइन्। त्यसपछि अल्ट्रासाउण्ड गराउँदा ११ एमएमको स्टोन रहेको रिपोर्ट आएको उनी बताउँछिन्। ‘डाक्टरले तपाईंको किड्नी स्टोनले गर्दा सुन्नी सकेको छ। यसले किड्नीमा असर गर्छ, जतिसक्दो चाँडो अपरेसन गर्नुपर्छ भन्नुभयो,’ ती महिलाले नयाँ सन्देशसँग भनिन्, ‘मैले भदौमा गर्छु भनेँ तर डाक्टरले हुँदैन आजभोलि गरिसक्नुपर्छ, तपाईंलाई गाह्रो हुन्छ भन्नुभयो।’

डाक्टरले अपरेसन गर्नका लागि बिरामीलाई मितिसमेत तोकिदिए र शल्यक्रिया गर्दा लाग्ने खर्चका बारेमा पनि जानकारी गराए। डाक्टरले अपरेसन गर्नका लागि निकै कर गरेपछि उनलाई केही शंका लाग्यो। त्यसकै भोलिपल्ट उनले अर्को डाक्टरसँग क्रस चेक गर्ने निधो गरिन्।

सिपी अस्पतालको रिपोर्टमा हाइड्रो नेफ्रोसिस देखायो, त्यसको मतलब स्टोनले गर्दा पिसाब निष्कासन नभएपछि किड्नी सुन्निएको बतायो तर एक दिनपछि मात्रै भोलिपल्ट धनगढीकै अर्को डाक्टरबाट अल्ट्रासाउण्ड गराउँदा हाइड्रो नेफ्रोसिस नरहेको र किड्नी पनि नसुन्निएको साथै स्टोनको आकार समेत ११ एमएमको ठाँउमा ८ एमएमको स्टोन रहेको पाइयो।

सिटी केयुबीबाट पथरीको आकार स्पष्ट थाहा हुने भएपनि सिपी अस्पतालका चिकित्सकले उक्त सल्लाह नदिई सिधै अपरेसन गर्नैपर्ने भनेर मानसिक रूप त्रास उत्पन्न गराए। अर्को ठाउँमा चेकजाँच गराउँदा ८ एमएमको स्टोन रहेको रिपोर्ट आयो। त्यहाँका चिकित्सकले औषधि खाँदा निस्किन्छ भने ती महिलालाई सुझाव दिए। औषधि खाएको तेस्रो दिनमै आफ्नो स्टोन निस्केको उनले बताइन्।

‘निजी अस्पतालले पैसा कमाउनका लागि बिरामीलाई कतिसम्म बाध्यता गराउँदा रहेछन् भन्ने कुरा मैले थाहा पाएँ,’ उनले भनिन्, ‘म अलि क्रस चेक गर्न सक्ने हुँदा ठगिनबाट जोगिएकी छु र मेरो ६० ७० हजार पनि जोगियो। क्रस चेक गर्न नजान्ने र सामान्य लेखपढ गरेरका बिरामीलाई निजी अस्पतालले कति धेरै ठग्दा रैछन् भन्ने कुरा प्रस्ट हुन्छ,’

पछिल्लो समय धनगढीका निजी अस्पतालले सामान्य बिरामीलाई चर्को शुल्क लिँदै अपरेसन गर्नका लागि बाध्य पर्ने गरेको गुनासो बढ्दो छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖