हलिउड फिल्म ‘द लायन किङ’ को हिन्दी संस्करणको प्रमूख पात्रमा बलिउड अभिनेता शाहरूख खान र उनका छोरा आर्यन खानले आवाज दिएका थिए।
शाहरूख खानले मुफासाको लागि आवाज दिएका थिए भने आर्यनले सिम्बाको लागि आवाज दिएका हुन्। यस फिल्मले भारतीय बक्स अफिसमा सफलता हासिल गरेको थियो। अब यसै फिल्मको प्रिक्वेल ‘मुफासा: द लायन किङ’ प्रदर्शन हुँदैछ। आइतबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ।
बेरी जेनकिन्सले निर्देशन गरेको फिल्म २० डिसेम्बरदेखि प्रदर्शन हुनेछ। यस फिल्ममार्फत शाहरूख खानका कान्छा छोरा अब्राम खानले डेब्यू गर्दैछन्। अब्रामले सानो मुफासाको लागि आवाज दिएका हुन्।
‘मुफासासँग अविश्वसनीय विरासत छ। उसलाई जंगलको अन्तिम राजाको रूपमा हेरिएको छ। ऊ जंगलको राजा हो र उसले आफ्नो छोरा सिम्बालाई मार्गदर्शन गर्छ। मुफासाः द लायन किङमा मुफासाको बाल्यकालदेखि राजा बन्ने सम्मको यात्रा देखाइएको छ।
यो मेरो लागि डिज्नीसँगको विशेष सहकार्य हो। किनभने मेरा छोराहरू आर्यन र अब्राम यसमा सहभागी छन्,’ शाहरूखले भने।
