• Friday 9th of October 2026

बंगलादेशबाट भागेको ९ दिनमा हसिनाले जारी गरिन् पहिलो वक्तव्य, के भनिन्?


  • धनकुटा खबर
  • .

बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेको ९ दिनमा पहिलो वक्तव्य जारी गरेकी छन्।

फागुन २१ गते प्रधानमन्त्रीबाट राजीनामा गरेर भारत निर्वासनमा गएकी हसिनाले गएराति पहिलो वक्तव्य जारी गरेकी हुन्।

हसिनाको वक्तव्य उनको छोरा साजिव वाजेदले फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

वक्तव्यमा उनले सन् १९७५ मा अगस्ट १५ भएको आफ्नो परिवारका सदस्यहरूको हत्या र जुलाई यताको प्रदर्शनको विषयमा उल्लेख गरेकी छन्।

उनले जुलाइदेखि बंगलादेशमा भएका हत्या,हिंसा र तोडफोडको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेकी छन्।

उनले विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा भएको आक्रमणलाई आतंकवादी आक्रमण भनेकी छन्।

‘विद्यार्थी, शिक्षक, प्रहरी, गर्भवती महिला, पत्रकार, अभियान्ता, अवामी दलका नेता, विभिन्न संस्था र त्यससँग सम्बन्धित व्यक्तिहरू आतंककारी आक्रमणबाट मारिए,’ वक्तव्यमा उल्लेख छ।

उनले आफूजस्तै प्रियजनहरू गुमाएर पनि बाचिरहेकाहरूप्रति समवेदना प्रकट गरेकी छन्।

‘यी जघन्य हत्या र तोडफोडका पछाडि जिम्मेवार व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन र विस्तृत अनुसन्धान गर्न माग गर्दछु,’ हसिनाको वक्तव्यमा उल्लेख छ।

उनले आफ्नै कार्यकालमा बंगलादेशले विकाशसील राष्ट्रहरूमा सम्मानको स्थान बनाएको बताइन्। ‘तर दुखका साथ भन्नुपर्छ ती सबै आज खरानीमा परिणत भएका छन्,’ विज्ञप्तिमा भनिएको छ।

उनले पछिल्लो समय भएको क्रियाकलाप राष्ट्रपति मुजिबुर रहमान र लाखौं शहीदहरूको अपमान समेत रहेको बताएकी छन्।

‘यो राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको गहिरो अपमान हो, जसको नेतृत्वमा हामीले हाम्रो स्वाभिमान, हाम्रो पहिचान र हाम्रो स्वतन्त्र राष्ट्र हासिल गर्यौं। यो लाखौं शहीदहरूको रगतको घोर अपमान हो। म यो देशका जनतासँग न्याय चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ।

उनले १५ अगस्टलाई राष्ट्रिय शोक दिवस उचित सम्मान र गम्भिरताका साथ मनाउन आग्रह पनि गरेकी छन्। भोलि बंगबन्धु स्मृति संग्रहालयमा पुष्पहार अर्पण गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्न पनि बंगलादेशी नागरिकहरूलाई आग्रह गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖