• Friday 9th of October 2026

मेरो हत्या हुने खतरा छ : साउदी राजकुमार


  • धनकुटा खबर
  • .

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान (एमबीएस) ले आफ्नो हत्याको खतरा रहेको बताएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकी कंग्रेसका सांसदहरूसँग कुरा गर्दै उनले आफू मारिने खतरा रहेको बताएका हुन्।

साउदीले इजरायलसँग सामान्यीकरण सम्झौता गर्दा समा प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने कुरा समावेश भएन भने आफ्नो हत्या हुन सक्ने आशंका साउदी राजकुमारले गरेका छन्।

यसैकारण उनले उक्त सम्झौतामा प्यालेस्टिनी राष्ट्रका लागि तत्कालै स्पष्ट बाटो समावेश गर्न माग गरेका छन्।

यस क्रममा सलमानले आफ्नो अवस्था पनि इजिप्टका पूर्वनेता अनवर सादातको जस्तो त हुने होइन भनेर चिन्ता प्रकट गरेका छन्।

इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सन् १९८१ मा चरमपन्थीहरूले सादातको हत्या गरेका थिए।

प्यालेस्टाइनलाई छुट्टै राष्ट्र बनाउने कुरालाई साउदीका नागरिकले निकै महत्त्व दिने उल्लेख गर्दै साउदी राजकुमार सलमानले सारा मध्यपूर्व नै यस विषयमा निकै गम्भीर भएको बताएका छन्।

उनले भने, ‘यो मुद्दामा मैले ध्यान दिइनँ भने इस्लामको पवित्रस्थल रक्षकका रूपमा मेरो कार्यकाल सुरक्षित हुने छैन।’

गाजा युद्धका कारण इजरायल र साउदी अरबबीच सामान्यीकरण सम्झौता हुने सम्भावना घटेको छ।

हत्याको खतरा रहँदारहँदै पनि आफू अमेरिका र इजरायलसँगको सम्झौतालाई अगाडि बढाउन प्रतिबद्ध रहेको सलमानले बताएका छन्। साउदीको भविष्यका लागि इजरायलसँग सम्झौता जरुरी भएको उनको विश्वास छ।

उक्त सम्झौताबापत अमेरिकाले साउदीलाई सुरक्षाको प्रतिभूति, हातहतियारको निरन्तर आपूर्ति गर्ने वाचा गरेको छ।

अमेरिकाले साउदीलाई नागरिक परमाणु कार्यक्रम सुरु गर्न पनि मद्दत गर्न सक्छ। तर अमेरिकाको समर्थनमा हुन लागेको यो सम्झौता पेचिलो बन्दै गएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौतामा प्यालेस्टिनी राज्यको माग समावेश गर्ने कुराको विरोध गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖