• Wednesday 7th of October 2026

केटीलाई गौशाला २६ भन्ने भए केटालाई रंगशाला २५ किन नभनेको ?:शैलेन्द्र सिम्खडा


  • धनकुटा खबर
  • .

काठमाडौं । हरेक वर्षको गाईजात्रामा चर्चामा आउने एक पात्र हुन् व्यंग्य कवि शैलेन्द्र सिम्खडा । वर्षभरि कता के गर्दै हुन्छन्, गाईजात्रामा दर्शकसामू नयाँ कविताहरु लिएर अवश्य झुल्किन्छन् ।

चार दशकदेखि गाईजात्रामा प्रस्तुति दिँदै आएका छन् कवि सिम्खडा । उनका कविताले मुलतः सामाजिक विकृति विसंगतिमाथि चोटिला प्रहार गर्छन् । जोकसैले सहजै बुझ्ने सरल शब्दचयन र मिठासपूर्ण काव्यिक रचना एवं प्रस्तुतिले उनलाई हरेक वर्गका दर्शकमा लोकप्रिय बनाएको छ । अझ पौराणिक पात्रहरुलाई वर्तमानका सन्दर्भहरुसँग जोडेर चौतर्फी व्यंग्य गर्ने उनको क्षमता विशिष्ट छ ।

यस गाईजात्रामा पनि सिम्खडाले आफ्नो विशेषतालाई निरन्तरता दिएका छन् । राष्ट्रिय नाचघरमा हिजोबाट सुरु भएको साटो ‘एकासीको गाईजात्रा’ का एक आकर्षण हुन् उनी । यसपाली उनले आफ्ना कविताका पारखीहरुलाई कस्तो सिर्जना पस्किँदैछन् त ? एक झलक हामी यहाँ प्रस्तुत गर्दैछौं, जुन गत वर्षको सर्वाधिक चर्चित प्रकरणसँग सम्बन्धित छ-

त्रेतायुगमा सीताजी अपहरित हुँदा नाम गोप्य राख्नु परेन
द्वापर युगमा द्रौपदीको चीरहरण हुँदा कसैले नामको वास्ता गरेन

कलिमा नमिता सुनीता र निर्मला पन्तहरु बलात्कृत भएर मर्नुपर्‍यो, नाम गोप्य राखिएन, तस्विरसमेत प्रचार गरियो
महराजी र रोसनीजीको राससिला पनि सम्पूर्ण पत्रिका भरियो

अहिले आएर कहीँ नभएको जात्रा हाँडिगाउँमा भो
त्यो गौशाला २६ भन्ने प्राणी को हो ?

पहिले गाउँमा मुखिया बाले फैसला गर्थे

बाटोमुनि घटना भएको भए केटा दोषी, तानेर लग्यो

बाटोमाथि घटना भएको भए केटी दोषी
होटलमा गएको भए दुवैको राजीखुशी

मुखिया फैसला गरेर हिँन्थे
गाउँलेले समातेर बिहे गराइदिन्थे

अहिले त हेर्नुस, काम र दाम भन्नुहुने, नाम भन्न नहुने
त्यहीमाथि केटाको भन्नु हुने, केटीको भन्नु नहुने

कस्तो विभेदकारी कानून बनेको ?
केटीलाई गौशाला २६ भन्न भन्ने भए केटालाई रंगशाला २५ किन नभनेको ?

एउटी केटीले कलाकारविरुद्ध उजुरी गरिन्, नायक गए जेलमा
अर्की केटीले खेलाडीविरुद्ध उजुरी गरिन्, खेलाडी पुग्न पाएनन् खेलमा

तेस्री केटीले नेताविरुद्ध गरिन्, उजुरी दर्ता भएन, मिडियामा कराइन् ठूलो स्वरमा
हाम्रो देशमा नेतासँग कानून पनि डराउँदो रहेछ
अहिले त उजुरकर्ता नै थुनिइछन् खोरमा

म किसानको छोरो हजुर, मलाई पनि अर्काको श्रीमतीलाई हातपात गरेको अभियोगमा थुनाउने रे
मैले गाई दुहेको तस्विर लगेर अदालतमा साँढेलाई उजुरी दिन लाउने रे

तपाईंहरु भन्नुहोला, साँढे यस्तो काममा अघि सर्छ ?
सर्छ हजुर, यहाँ गोरुको बुद्धी हुनेहरुले गोरुलाई नै प्रयोग गर्छ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖