• Monday 5th of October 2026

बोका चोरेको आरोपमा पक्राउ


  • धनकुटा खबर
  • .

लमजुङमा खसी चोरी गरेको अभियोगमा साढे दुई महिनाअघि पक्राउ परेर धरौटीमा छुटेका एक युवक बोका चोरी गरेको आरोपमा फेरि पक्राउ परेका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्व्होंलासोथार गाउँपालिका- ४, भुजुङका ३४ वर्षीय कालु गुरुङलाई मध्यनेपाल नगरपालिका- ६ का शिरोमणि भट्टराईको दुईवटा बोका चोरेको आरोपमा पुन: प्रहरीले पक्राउ गरेको छ ।

असोज ३ गते बुधबार रातिदेखि बोका हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा मध्यनेपाल नगरपालिका- ५ रिङ्नेको जंगलमा बोका फेला पारेको थियो। आरोपित गुरुङले उक्त बोका बिक्री गर्नका लागि तनहुँको दमौलीतर्फ लैजाँदै गर्दा प्रहरीले पिछा गरेको थाहा पाएपछि उक्त बोकाहरू जंगलमै छाडेर फरार भएका थिए।

उनलाई मध्यनेपाल नगरपालिका- ५ पराजुलीबेँसीबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए। आरोपित गुरुङउपर जिल्ला अदालत लमजुङबाट चोरीसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि लमजुङको बेँसीसहर नगरपालिका- ९ साम्दी बस्ने शान्तिबहादुर बस्नेतको खोरबाट एउटा खसी र सोही ठाउँ बस्ने गोविन्द विकको घरबाट एउटा खसी चोरी गरी बिक्री–वितरण गर्न बेँसीसहरबाट डुम्रेतर्फ जाँदै गरेको बसको डिक्कीमा राख्दै गर्दा गुरुङ पक्राउ परेका थिए।

त्यसपछि अदालतमा मुद्दा दर्ता गरी फैसला नहुञ्जेलसम्मका लागि ५० हजार रुपैयाँ धरौटी तिराएर तारेखमा छाडिएका गुरुङ पुनः बोका चोरेको आरोपमा पक्राउ परेका हुन्। यसअघि गुरुङलाई खसी चोरेको आरोपमा प्रहरीले असार २४ गते पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार मुलुकी अपराध संहिता, २०७४ अनुसार चोरी गर्ने व्यक्तिलाई तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।-शान्ता कमली/नयां पत्रिका

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖