काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्य दुई सातामै प्रतिकिलो ५० रुपैयाँले बढेको छ ।
भदौ २३ गतेसम्म प्रतिकिलो ३७० रुपैयाँमा बिक्री भइरहेको कुखुराको मासुको मूल्य अहिले ४२० रुपैयाँ पुगेको छ ।
भदौ २४, २७ र असोज ३ गते गरी पछिल्लो १५ दिनमा मूल्य तीनपटक बढिसकेको छ । साउनमा मासु बिक्री नहुने भन्दै किसानले कुखुरा उत्पादन कम गर्दा मूल्य बढेको व्यवसायीहरुको दाबी छ ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बेलबासे भारतबाट अवैध रुपमा कुखुरा भित्रन कम भएका कारणले पनि मूल्य बढेको बताउँछन् ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बेलबासे ।
अध्यक्ष बेलबासे भन्छन्, ‘भारतमा पनि कुखुराको मूल्य बढेको छ । त्यसकारण अवैध रुपमा कुखुरा नभित्रिएका कारण पनि मूल्य बढेको हो ।’
कुखुरा उत्पादन हुन ४५ दिन लाग्ने भएकाले मूल्य घट्न केही समय लाग्ने देखिन्छ । देशमा दैनिक ८ लाख किलो कुखुराको मासुको खपत हुन्छ जसमा ५ लाख किलो उपत्यकामा मात्रै उत्पादन हुने गरेको छ ।
