रामेछाप । लिखु तामाकोशी गाउँपालिका–५ नागदहमा एक ६० वर्षीया वृद्धाको कानको सुन लुटेको आरोपमा सोही स्थानका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गत साउन ३० गते दिउँसो लिखु तामाकोशी गाउँपालिका–५ नागदह पिपलदीपकी सुन्तलीमै तामाङको आँखामा खुर्सानीको धुलो हालेर सुन लुट्ने १९ वर्षीय चन्द्र घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
ती महिलाको घाँटीमा समाती आँखामा खुर्सानीको धुलो हालेर दुवै कानमा लगाएको साढे एक तोलाको सुनको रिङ लुटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिनुभयो । आरोपीबाट सुनका रिङ बरामद भएको प्रहरीले जनाएको छ ।
वडा कार्यालयमा एकल महिला भत्ता कार्ड नवीकरण गरी आफ्नो घर तर्फ फर्कने क्रममा आइरन खोलामा कानका लोती नै चुँडाएर घिसिङले गहना लुटेका थिए । घिसिङलाई रामेछाप जिल्ला अदालतबाट डाँका मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
