• Wednesday 7th of October 2026

पलेशालाई रु ६५ लाख पुरस्कार सहित सम्मान गरिने :प्रधानमन्त्री ओली


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकाटी ६५ लाख रूपैयाँ राशीको पुरस्कार दिने घोषणा गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित बधाइ तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा करबिना ६५ लाख रूपैयाँ नै दिने स्पष्ट पारेका हुन्।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन्।
प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए।

‘नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु। यस पटक हामीले पारालिम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौं। पलेशाको जित नेपालीको जित हो। यसले औधी खुसी तुल्याएको छ। नेपालको इज्जत बढाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो कीर्तिमान इतिहासमा लेखिनेछ। हामीले पुराना कीतिमानहरू तोड्दै जानुपर्छ। एउटै रेकर्डमा चित्त बुझाएर बस्नु हुँदैन। हाम्रो कीर्तिमानको यात्रा सुरू भएको छ।’

सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖