• Tuesday 6th of October 2026

पानी पनि नखाई गरिने ब्रत सबैभन्दा ठूलो गल्ती हो


  • धनकुटा खबर
  • .

काठमाडौं- तीज हिन्दु नारीहरुले मनाउने एक महत्वपूर्ण चाड हो। भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म चार दिन तीज मनाईन्छ।

तीजको दिन विवाहित महिलाले श्रीमानको लामो आयुका लागि निराहार व्रत बस्ने गर्दछन्। धार्मिक परम्परा अनुसार महिलाहरुले पानी पनि नखाई व्रत बसे पनि स्वास्थ्यका हिसाबले यसलाई सही मानिदैन।

व्रतलाई धर्म र स्वास्थ्यसँग जोडिएर हेर्न गरिन्छ। कसैले धार्मिक आस्थाका लागि त कसैले शरीरको तौल घटाउन समेत व्रत बस्छन्। वस्त बस्नुको अनेकौ फाइदाहरु छन्। व्रत बस्दा शारीरिकदेखि मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ। व्रत बस्दा मस्तिष्क स्वास्थ्यमा बढी फाइदा पुग्छ। उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै रगतमा ग्लुकोजको मात्रा सन्तुलित बनाउन मद्दत गर्दछ।

तर सही तरिकाले नगरिएको व्रतले भने शरीरलाई फाइदाको साटो हानी पुर्‍याउँछ। व्रत सबै व्यक्तिले बस्न मिल्दैन। बालबालिका, गर्भवती, स्तनपान गरिरहेका महिला, शरीरको तौल कम भएका र दीर्घरोगीहरुले व्रत बस्न नमिल्ने पोषणविद् चन्द्रमाला अवस्थी बताउँछिन्।

उनी भन्छिन्, ‘सबैलाई एउटै व्रतले फाइदा गर्छ नै भन्ने हुँदैन। व्यक्तिको जीवनशैली, स्वास्थ्य अवस्था, उमेरले पनि फरक पार्छ।’
पोषणविद् अवस्थीका अनुसार पानी पनि नखाई गरिने व्रत सबैभन्दा ठूलो गल्ती हो। निराहार व्रत बस्दा शरीरमा पानीको कमी हुन्छ। जसले विभिन्न स्वास्थ्य समस्या निम्तन सक्ने उनी बताउँछिन्।

‘पानी पनि नखाई गरिने व्रतले तत्काल शरीरको तौल घटेपनि स्वास्थ्यमा नकारात्मक असर गर्छ।’ उनले भनिन्, जुस, ‘दूध, फलफूल खाएर गरिने व्रतले पनि स्वास्थ्यलाई फाइदा नै गर्छ। तर यस किसिमको व्रत वस्दा आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्छ।’

व्रत बस्दा शरीरको मेटाबलीजिमको गतिलाई कम गर्ने, शरीर कमजोर हुने र भिटामिनको कमी हुन्छ भन्ने कुराहरु भने भ्रम मात्र भएको उनले बताइन्। सही तरिकाले गरिएको व्रतले शरीरलाई फाइदा पुग्ने उनले स्पष्ट पारिन्।

पहिलो पटक व्रत बस्न लागिएको छ भने लामो समय व्रत नबस्ने। बिहान र बेलुकी खाना छाडेरभन्दा पनि एक समयको खाना छाडेर मात्र व्रत बस्न उनको सुझाव छ। व्रत बस्दा २/३ घण्टाको फरकमा जुस या तरल पदार्थ खानुपर्दछ।

उनले भनिन्, ‘अरुले भनेको आधारमा नभई आफ्नो आवश्यकता र शारीरिक अवस्था अनुसार मात्र व्रत बस्नुपर्दछ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖