• Friday 9th of October 2026

यसरी बम विस्फोट गरेर भत्काइयो २२ तले भवन


  • धनकुटा खबर
  • .

अमेरिकाको लुजियाना राज्यमा सरकारले २२ तले भवन हर्ट्ज टावर बम विस्फोट गराएर भत्काएको छ। केवल १५ सेकेन्डमा यो सुन्दर गगनचुम्बी भवन फोहोरको थुप्रोमा परिणत भयो। केही वर्षदेखि यस भवनलाई जोगाउने प्रयास भइरहेको थियो तर सफल हुन सकेन।

प्रतिवेदनका अनुसार चार वर्षअघि सहरमा आएको चक्रवात ‘लौरा’का कारण भवन नराम्ररी क्षतिग्रस्त भएको र त्यसयता भवन पूर्ण रूपमा खाली थियो। शनिबार लुजियाना राज्यको लेक चार्ल्स सहरमा रहेको क्याल्कासिउ नदीको किनारमा रहेको २२ तले भवन हर्ट्ज टावरमा बम विस्फोट गराइएको हो।

सहरका मेयर निक हन्टरको उपस्थितिमा भवन भत्काइएको थियो। यो भवन विगत चार वर्षदेखि पूर्ण रूपमा खाली थियो। भवन भत्काउँदा मुआब्जाको रकमलाई लिएर रियल इस्टेट फर्म हर्ट्ज इन्भेस्टमेन्ट ग्रुपका मालिक र घरधनीबीच अदालतमा विवाद चलिरहेको थियो।

दुवै पक्षबीच सहमति भएपछि अदालतले उक्त भवन भत्काउन आदेश दिएको थियो। शनिबार भवनभित्र बम राखेर विस्फोट गराइएको थियो। हर्ट्ज टावर १५ सेकेन्डमा ५ तले अग्लो थुप्रोमा परिणत भयो।

यो भवन पहिले क्यापिटल वन टावर भनेर चिनिन्थ्यो। चार दशकभन्दा बढी समयदेखि यो भवन लेक चार्ल्स सहरमा आकर्षणको प्रमुख केन्द्र थियो, तर २०२० मा आएको आँधीका कारण भवनमा ठूलो क्षति पुगेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖