• Wednesday 7th of October 2026

सात महिनाअघि रिलिज भएर अहिले चर्चा पाएको ‘कस्मिरे पछ्यौरी’


  • धनकुटा खबर
  • .

पछिल्लो केही सातायता एउटा लोकदोहोरी गीत चर्चामा छ–
लाजै लाग्यो, हेरेँ भुइँतिर
आँखैको निशाना ट्याक्कै मै तिर…
सामाजिक सञ्जाल टिकटक र फेसबुक रिल्समा यो गीतका टुक्कामा थुप्रैले भिडिओ बनाएका छन्। बनाउने क्रम जारी छ। गीतको युट्युब भ्युजको ग्राफ निरन्तर उकालो लागिरहेको छ।

‘कस्मिरे पछ्यौरी’ गीतको चर्चा रिलिज हुनासाथ भएको भने होइन। बाबुकृष्ण परियार र दिपिका बयम्बुको स्वर रहेको गीत ७ महिनाअघि रिलिज भएको थियो। तर रिलिज हुनासाथ गीत चलेन।

गीतका प्रस्तुतकर्ता समेत रहेका बाबुकृष्णका अनुसार ६ महिनासम्म यसले युट्युबमा २ लाख पनि भ्युज पाएको थिएन। त्यसको एक महिनापछि (आइतबार) सम्म गीतलाई एक करोड ६५ लाखभन्दा बढी पटक हेरिएको छ।

‘हामीले मेहनत गरेर राम्रो गीत ल्याउने प्रयास गरेका थियौं तर सुरूआतमा नचल्दा टिममा किन चलेन भनेर चिन्ता भयो,’ बाबुकृष्णले सेतोपाटीसँग भने, ‘त्यसबेला गीत चलाउन भनेर टिकटक र रिल्स भिडिओहरू पनि बनाउँथ्यौं। तर पब्लिक फिगर नभएकाले राम्रो लाइक र भ्युज आउँदैनथ्यो।’

एक महिना अघिदेखि भने गीत विस्तारै टिकटक र फेसबुक रिल्समा हिट हुँदै गयो। त्यसपछि दर्शकहरू युट्युबमा गएर गीत खोज्न थाले। अनि क्रमश युट्युब भ्युजले पिकअप लिन थाल्यो।

‘सुरूमा नचल्दा आशै मारिसकेका थियौं। तर स्रोता, दर्शकहरूले मन पराएर टिकटक र रिल्स बनाउन थालेपछि चर्चा बढ्न थाल्यो,’ बाबुकृष्णले भने, ‘राम्रो सिर्जना ढिलोचाँडो चल्दो रहेछ। हाम्रो गीतलाई टिकटकले धेरै फाइदा पुर्‍यायो।’

टिकटक आफ्नो गीतलाई स्रोता–दर्शकसम्म पुर्‍याउने बलियो माध्यम बनिदिएको उनले बताए। यो गीत यतिबेला विश्वव्यापी शीर्ष संगीत भिडिओभित्र समेत पर्न सफल भएको छ।

बाबुकृष्णकै युट्युब च्यानलमा सार्वजनिक ‘कस्मिरे पछ्यौरी’ को शब्द र संगीत निश्चल दवाडीको हो। गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन्।

चित्लाङमा दुई दिन लगाएर खिचिएको भिडिओमा बाबुकृष्ण र केपिना गोतामेले अभिनय गरेका छन्।

मौसम हिमालीको कथा एवं निर्देशनमा भिडिओ बनेको हो। भिडिओमा नवराज उप्रेती र बुद्द थापाको छायांकन, अमृत चापागाईँको सम्पादन छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖