काठमाडौं । एक युवक आफ्नो कम्पनीको व्यावसायिक काममा सहभागी हुँदा उनको परिचय एउटा हुन्छ । जब कम्पनीको काम सकिन्छ, त्यसपछि उनको परिचयसँगै हुलिया पनि बदलिन्छ ।
इमान्दार र सफल व्यवसायी देखिएका ती युवा एकाएक ‘सुगर ड्याडी’ को रूपमा देखिन थाल्छन् । सञ्जालमा पोस्ट गरेका तस्वीर, भिडिओमा पैसाको बिटो छरपस्ट देखिन्छ । युवतीसँगका तस्वीर र नाइट क्बलमा गरिएका रोमान्स बाहेकका दृश्य उनले शेयर नै गर्दैनन् । टिकटकदेखि इन्स्टाग्रामसम्मको आईडीको नाम नै सुगर ड्याडी राखेका छन्।
अरू बेला सामान्य देखिए पनि सुगर ड्याडी बन्दा उनको हुलिया परिवर्तन हुन्छ । तालु खुइलिएको, अनुहार चाउरिएको वृद्ध पुरुष देखिने नकाब लगाएपछि उनी सुगर ड्याडी बन्छन् । उनको वरपर युवायुवतीको भीड हुन्छ ।
