काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको दुई दिन बित्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
जिल्ला अदालत काठमाडौंले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरूद्धसमेत अदालतले वारेन्ट जारी गरेको छ ।
उक्त अदालतका अनुसार विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा उनीहरु तीनजना विरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो ।
तर, वारेन्ट जारी भएको २४ घण्टा बित्दा पनि प्रहरीले भने प्रसाईंसहित तीन जनालाई पक्राउ गरेको छैन ।
उनी काठमाडौं उपत्यकाभित्रै भए पनि प्रहरीले पक्राउ गरेको छैन ।
अझ प्रहरीको साइबर ब्युरोले नै प्रसाईंसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै पक्राउको अनुमति मागेको थियो ।
अदालतले पक्राउको अनुमति दिएपछि भने प्रहरी पक्राउ गर्नबाट पन्छिएको छ ।
बुधबार पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले पत्रकार सम्मेलन नै गरेर आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीले नागरिकको बोल्न पाउने अधिकार नै खोसिएको बताएका छन् ।
