एजेन्सी । चीनमा सुन्दर गभर्नरको नामले प्रसिद्ध ग्वाइझू प्रान्तकी गभर्नर झोंग यांगलाई १३ वर्ष जेल सजाय सुनाइएको छ।
उनीमाथि १ करोड १६ लाख युआनको जरिवाना पनि लगाइएको छ। ५२ वर्षीया झोंग यांगलाई करिब ७१ करोड युआनको घुस लिएको र आफूसँग काम गर्ने ५८ जनासँग शारीरिक सम्बन्ध राखेको आरोपमा दोषी ठहर गरिएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार, झोंग चीनको कम्युनिस्ट पार्टीबाट ग्वाइझूकी उपसचिव र गभर्नर भइसकेकी छिन्। उनले २२ वर्षको उमेरमा पार्टी ज्वाइन गरेकी थिइन्। जनवरी २०२३ मा चीनको ग्वाइझू रेडियोले आफ्नो रिपोर्टमा झोंगसँग सम्बन्धित विवादहरूको उल्लेख गरेको थियो।
उनीमाथि आफ्नो पदको दुरुपयोग गरी सरकारी लगानीको आडमा आफूले चाहेका कम्पनीहरूलाई ठूला ठेक्काहरू दिलाएको आरोप छ । झोंगले एक व्यवसायीलाई १.७ लाख वर्ग मिटरको जमिनमा हाइ–टेक औद्योगिक क्षेत्र बनाउने ठेक्का दिलाएकी थिइन्। यो व्यवसायीको झोंगसँग नजिकको सम्बन्ध थियो।
यो सम्झौताबाट झोंगलाई पनि धेरै फाइदा भएको थियो। अप्रिल २०२३ मा ग्वाइझू प्रान्तको सुपरभिजन समितिले झोंगविरुद्ध जाँचको घोषणा गरेको थियो। यस क्रममा झोंगमाथि ५८ पुरुषसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि लागेको थियो।
उनी २०२३ मा गिरफ्तार परेपछि पार्टीबाट निकालिएको साउथ चाइना मर्निङ पोष्टलाई उद्धृत गर्दै दैनिक भास्कारले लेखेको छ ।
