• Monday 5th of October 2026

अमर अकबर एन्थोनी, कुली जस्ता चलचित्र लेख्ने प्रयाग राजको निधन


  • धनकुटा खबर
  • .

मुम्बई । अमर अकबर एन्थोनी, नसीब र कुली जस्ता चर्चित फिल्मका पटकथा लेखक प्रयाग राजको निधन भएको छ । उनी ८८ वर्षका थिए ।

उनका छोरा आदित्यले शनिबार साँझ ४ बजे आफ्नो बान्द्राको घरमा बुबाको मृत्यु भएको बताए । उनका अनुसार उनी विगत आठ–दश वर्षदेखि उमेरसँग सम्बन्धित विभिन्न रोगबाट पीडित थिए । पीटीआईका अनुसार उनको अन्तिम संस्कार आइतबार बिहान मुम्बईको दादरस्थित शिवाजी पार्कमा गरिएको थियो।

प्रयाग राजले अमिताभ बच्चन अभिनीत अमर अकबर एन्थोनी, नसीब, कुली, मर्द, सुहाग जस्ता करिब १०० फिल्म लेखेका थिए। प्रयाग राजले गिरफ्तार, रोटी, धरमवीर र धरम करमको स्क्रिप्ट पनि लेखेका थिए।

प्रयाग राजले फिल्मका लागि संवाद लेखेर आफ्नो करियर सुरु गरेका थिए । ‘फूल बने अंगारे’बाट संवाद लेख्न थालेका प्रयाग राजले ‘झुक गया आस्मान’, ‘भाइ हो तो ऐसा’ जस्ता धेरै फिल्मका संवाद लेखेका छन् । उनले धेरै फिल्मका लागि गीत पनि लेखेका छन् ।

उनको निधनमा शोक व्यक्त गर्दै अमिताभ बच्चनले श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘हिजो साँझ हामीले हाम्रो महान चलचित्र उद्योगको अर्को स्तम्भ गुमायौँ,’ उनले आफ्नो व्यक्तिगत ब्लगमा लेखेका छन् । अनिल कपुरले प्रयाग राजको निधनले आफू निकै दुखी भएको बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖