• Tuesday 6th of October 2026

कालोबजारी र कृत्रिम अभाव गर्नेमाथि सूक्ष्म अनुगमन


  • धनकुटा खबर
  • .

काठमाण्डाै – दशैँ, तिहार, छठ लगायतका चाडपर्व नजिकिएसँगै बजारमा महँगी बढेको छ । व्यापारीले आफूखुशी खाद्यवस्तुको मूल्य निर्धारण गरेर बिक्री गरिरहेका उपभोक्ताको गुनासो छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले खासै महँगी नबढेको देखाए पनि चाडपर्व नजिकिएपछि मूल्यवृद्धि गर्ने प्रवृत्ति यसपालि पनि दोहोरिएको छ । अहिले खासगरी चिनी र दलहनको मूल्य आकाशिएको छ ।

केही समयअघि चामलको मूल्य पनि यसैगरी बढिरहेको थियो । तर, अहिले चामलको मूल्य भने केही घट्न थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको दाबी छ । बजारमा अहिले चिनी किलोको मूल्य पसलै पिच्छे फरक-फरक रहेको छ । केही समय अघिसम्म किलोको एक सय रुपैयाँ रहेको चिनीको मूल्य अहिले एक सय ३० देखि एक सय ५० रुपैयाँसम्म पुगेको छ।

मागको ५० प्रतिशत चिनी आयातमै भर पर्नुपर्ने अवस्था रहे पनि अहिले बढेको मूल्य भने अस्वाभाविक नै रहेकाले नियन्त्रणका लागि विशेष अनुगमन टोली खटाएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष अनुगमन टोलीले चिनी कुन उद्योग वा थोक बिक्रेतासँग खरिद गरेर खुद्रा पसलले बेचिरहेको छ भन्नेबारे अनुगमन गर्नेछ ।

खुद्रा व्यापारीले थोकमै महँगाे परेको बताएकाले अहिलेको अनुगमन थोक र उद्योग केन्द्रित गरिएको चिलुवालले बताउनुभयो । अनुगमन विशेष टोलीले कालोबजारी र कृत्रिम अभाव गर्नेको सूक्ष्म अनुगमन र पहिचान गरिरहेको उहाँको दाबी छ । अबको एक हप्ताभित्रै भाउ बढ्नुको कारणबारे प्रतिवेदन तयार हुने र कालोबजारी र कृत्रिम अभाव गर्ने/गराउनेलाई कारबाही हुने उहाँले बताउनुभयो ।

विभागले अहिले चाडपर्व लक्षित अनुगमन गरिरहेको छ । विभागले उपभोक्तालाई पनि सचेत हुन आग्रह गरेको छ । आफू ठगिए जस्तो लागे विभागको पैसा नलाग्ने नम्बर ११३७ मा उजुरी दिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालको आग्रह छ ।
परेका उजुरीमाथि छानबिन हुने र दोषी पाइए कारबाही गर्ने विभागले जनाएको छ । विभागले उजुरी दिनेको नाम गोप्य राख्ने भएकाले ढुक्क हुन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖