काठमाडौं । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका दीपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजु-बहिनी हो ।
उनीहरू कक्षा १० मा अध्ययनरत थियो । गल्याङ नगरपालिका ३, स्याङ्जाका उनीहरू बुटवल बसेर पढ्दै आएका थिए । विद्यालयमा सधैँ उत्कृष्ट नतिजा ल्याउने यी दाजु-बहिनी नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा पहिलो चरणमा छनोट भइसकेका थिए ।
दोस्रो चरणको लागि उनीहरू बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरूलाई ३२ राष्ट्रका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो, जुन उनीहरूको जीवनकै महत्त्वपूर्ण क्षण बन्ने थियो ।
शुक्रबार उनीहरू आफ्नो सपना पूरा गर्न काठमाडौंतिर हिँडे । बुटवलबाट छुटेको माइक्रोबस ९लु १ ज ४५७८० मा टिकट लिई दीपेश, दीपिका र आमा सीता भट्टराईले यात्रा थालेका थिए ।
उनीहरूको यात्रा काठमाडौं हुँदै बंगलादेशसम्मको थियो । तर, यो यात्रा कहिल्यै पूरा भएन । झ्याप्ले खोलामै बिलाए उनीहरूका सपना ! काठमाडौं आइपुग्न १८/२० किलोमिटर मात्र बाँकी थियो, धादिङको झ्याप्ले खोलामा पहिरोले माइक्रोलाई पुरिदियो ।
गाडीमा रहेका दीपेश-दीपिकासहित ९ जनाको ज्यान गयो । यो समाचार तयार पर्दासम्म अरू गाडीसहित त्यहाँ पुरिएका ३५ भन्दा बढीको शव निकालिएको छ । दीपेश-दीपिकाका बाबु होमनाथ भट्टराई कोरियामा काम गर्दैछन् । शुक्रबार बिहान श्रीमती सीता र छोराछोरीसँग उनको कुरा भएको थियो ।
उनीहरू बङ्गलादेशको सम्मेलनका लागि निकै उत्साहित थिए तर, होमनाथलाई कल्पना थिएन कि आफ्नो परिवार सधैँको लागि गुमाएको खबर सुन्नुपर्छ । कामबाट फर्किँदै गर्दा उनले यो हृदयविदारक समाचार सुने । परिवारका सबै सदस्यको जीवन एकै साथ पहिरोमा बिलायो ।
अब होमनाथ भट्टराई कोरियाबाट फर्किए पनि स्वागतमा उत्साहित अनुहार होइन, शोकमा डुबेको आफन्त र छरछिमेकको भीड मात्रै हुनेछ ।
होमनाथका १५ वर्षका छोराछोरी दीपेश-दीपिकाले बुटवलको कालिका माविमा भविष्य निर्माणको यात्रा थालेका थिए । उनीहरूको लक्ष्य थियो एसईईमा उत्कृष्ट प्रदर्शन गरेर उच्च शिक्षातर्फ अग्रसर हुने । विद्यालयका प्राचार्य दिनेश थापाका अनुसार उनीहरू आउँदो एसईईमा ४ जीपीए ल्याउने मुख्य दाबेदार विद्यार्थी थिए ।
उनी भन्छन्, “विद्यालयले उनीहरूको प्रगतिको लागि सिफारिससहित छुट्टी दिएको थियो । तर, उनीहरू कहिल्यै फर्केर नआउने भए ।”
