काठमाडौं । अरबपति इलोन मस्कको कम्पनी स्पेसएक्सको ड्र्गन स्पेसक्राफ्ट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा पुगेको छ।
यस स्पेसक्राफ्टमा रूसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभ र नासाका अन्तरिक्षयात्री निक हेग सवार रहेका छन्। स्पेसक्राफ्ट बोकेको रकेट फाल्कन–९ ले शनिबार दिउँसो फ्लोरिडाको केप क्यानावेरल लन्च प्याडबाट उडान भरेको थियो।
ड्र्यागन स्पेसक्राफ्टमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा ६ जूनदेखि फसेका भारतीय मूलका अन्तरिक्षयात्री सुनीता विलियम्स र बुच विल्मोरलाई फेब्रुअरी २०२५ मा पृथ्वीमा फर्काइनेछ।
११६ दिनदेखि अन्तरिक्षमा फसेका सुनीता र बुच विल्मोर फर्कानका लागि चार सिट भएको यस रकेटमा दुई सिट खाली छोडिएको छ।
उनीहरु यसै वर्ष ५ जूनमा बोइङको नयाँ स्टारलाइनर क्याप्सुलबाट आईएसएस पठाइएका थिए।
नासा प्रमुखले २४ अगस्टमा बताएअनुसार सुनीता विलियम्स र बुच ६ महिनापछि फेब्रुअरी २०२५ सम्म पृथ्वीमा फर्कनेछन्। अन्तरिक्षयात्रीहरूलाई बोइङको नयाँ स्टारलाइनर क्याप्सुलमा ल्याउन खतरनाक हुन सक्ने नासाले स्वीकार गरेको थियो ।
नासाका अनुसार सुनीता र बुच विल्मोर फेब्रुअरीमा इलन मस्कको कम्पनी स्पेसएक्सको ड्र्यागन स्पेसक्राफ्टबाट फर्कनेछन्।
सुनीता र विलमोरलाई अन्तरिक्ष स्टेशनमा किन पठाइएको थियो ?
सुनीता र बुश विलमोर बोइङ र नासाको संयुक्त (क्रू फ्लाइट टेस्ट मिशन) मा गएका थिए। यसमा सुनीता स्पेसक्राफ्टकी पाइलट थिइन्। उनीसँगै गएका बुश विलमोर यस मिशनका कमान्डर थिए। दुवैलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा ८ दिन बसेर पृथ्वीमा फर्कनु थियो।
लन्चको समयमा बोइङ डिफेन्स, स्पेस एन्ड सिक्युरिटीका अध्यक्ष तथा सीईओ टेड कोलबर्टले यसलाई अन्तरिक्ष अनुसन्धानको नयाँ युगको शानदार सुरुवात भनेका थिए। यस मिशनको मुख्य उद्देश्य स्पेसक्राफ्टको अन्तरिक्षयात्रीहरूलाई अन्तरिक्ष स्टेशनसम्म लगेर फर्काउने क्षमता प्रमाणित गर्नु थियो।
अन्तरिक्षयात्रीहरूले अन्तरिक्ष स्टेशनमा ८ दिनमा अनुसन्धान र धेरै प्रयोगहरू पनि गर्नु थियो। सुनीता र विलमोर पहिलो अन्तरिक्षयात्रीहरू हुन् जो एटलस–भी रकेटमार्फत अन्तरिक्ष यात्रामा पठाइए। यस मिशनको दौरान उनीहरूले स्पेसक्राफ्टलाई म्यानुअल रूपमा पनि उडाउनु थियो। फ्लाइट टेस्टसँग सम्बन्धित धेरै प्रकारका उद्देश्यहरू पनि पूरा गर्नु थियो।
