• Tuesday 6th of October 2026

अस्पतालका डाक्टरलाई मुक्का हान्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

पोखरा । लमजुङको वेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषि बस्नेतले लमजुङ जिल्ला अस्पतालका डा. सन्दीप अधिकारीलाई हातपात गरेका छन् ।

वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए ।

डाक्टरसँगको विवादपछि वडाध्यक्षले मुक्का प्रहार गरेको चपाईंले बताए । ‘वडाध्यक्षज्यूले आमालाई उपचारका लागि अस्पताल लैजानुभएको रहेछ, उपचारका क्रममा विवाद हुँदा उहाँले डाक्टरलाई मोबाइलले प्रहार गर्नुभएको रहेछ, मापसे पनि गर्नुभएको रहेछ, मुक्का पनि प्रहार भएको भनेर डाक्टरहरुले भन्नुभएको छ,’ उनले भने ।

घटना मिलाउन बिहानैदेखि छलफल भएको थियो । तर, मिल्न नसकेपछि डाक्टरहरुले उजुरी दिने तयारी गरेको लमजुङ प्रहरीका सूचना अधिकारी चपाईंले बताए ।

‘वडाध्यक्ष भएको भएरै मिलेर जाने भन्ने थियो । बिहानैदेखि छलफल गरिरहेका छौं । अहिले छलफल नटुगिंएपछि उहाँहरु (डाक्टर) उजुरी दिने भनेर जानुभएको छ’, उनले भने ।

उनका अनुसार वडाध्यक्ष बस्नेत प्रहरी नियन्त्रणमै छन् । उजुरी नपरे पनि वडाध्यक्ष बस्नेतलाई प्रहरी नियन्त्रणमै राखिएको चपाईंले बताए ।

उनले भने, ‘उजुरी परिसकेको छैन । तर, उहाँ प्रहरी नियन्त्रणमै हुनुहुन्छ ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीले भर्ना प्रोसेस गर्ने क्रममा डाक्टरकै कक्षमा आएर बस्नेतले हातपात गरेको बताए ।

‘घटना राति १० बजेको हो । उहाँले मादकपदार्थ पनि सेवन गर्नुभएको थियो । भर्ना प्रोसेस गर्ने क्रममा डाक्टरकै कक्षमा उहाँ (वडाध्यक्ष)ले हातपात गर्नुभयो । अस्पतालका साथीहरुले उहाँलाई रोक्नुभएको रहेछ’, उनले भने ।

मेसु तिवारीले आफूहरु कानूनी रुपमै अगाडि बढ्नुपर्ने तयारीमा रहेको बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖