एजेन्सी । भारतले बंगलादेशविरुद्धको तेस्रो टी-२० खेलमा १ सय ३३ रनको फराकिलो जित दर्ता गर्दै तीन खेलको सिरिजमा ‘क्लिन स्विप’ गरेको छ । भारतले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ८६ रनको जित निकाल्दै सिरिज ३-० ले आफ्नो पक्षमा पार्यो ।
पूरे सिरिजभर भारतले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्यो, र तेस्रो खेलमा त झन् कीर्तिमानी ब्याटिङ देखायो । हैदराबादको राजीव गान्धी नेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय ९७ रन बनायो, जुन टी-२० आईमा भारतको अहिलेसम्मकै उच्च स्कोर हो ।
यो स्कोर अन्तर्राष्ट्रिय टी-२० मा भारतको दोस्रो ठूलो हो । यस फर्म्याटमा सर्वाधिक रनको रेकर्ड भने नेपालको नाममा छ, नेपालले २०२३ सेप्टेम्बर २७ मा एसियन गेम्समा मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो र २७३ रनले जितेको थियो । भारतले अफगानिस्तानको २०१९ मा बनाएको २७८ रनको स्कोरलाई भने पछि पार्यो, तर नेपालको कीर्तिमान तोड्न १७ रनले चुकेको थियो ।
भारतका सञ्जु सामसनले यस खेलमा आफ्नो पहिलो टी-२० आई शतक बनाए, ४७ बलमा ११ चौका र ८ छक्कासहित १११ रनको विस्फोटक इनिङ खेले । कप्तान सूर्यकुमार यादवले ३५ बलमा ७५ रन, हार्दिक पाण्ड्याले १८ बलमा ४७ रन र रियान परागले १३ बलमा ३४ रन जोडे ।
बंगलादेशका लागि तान्जिम हसन शाकिबले ४ ओभरमा ६६ रन दिएर ३ विकेट लिए । २ सय ९८ रनको लक्ष्य पछ्याउँदै बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो ।
तौहिद हृदयले ४२ बलमा ६३ रन (५ चौका, ३ छक्का) र लिटन दासले ४२ रनको योगदान दिएपनि बाँकी ब्याटरले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । भारतका लागि रवि विश्नोइले ३ विकेट, मयंक यादवले २ विकेट, र वासिङ्टन सुन्दर तथा नितिशकुमार रेड्डीले एक/एक विकेट लिए ।
