• Wednesday 7th of October 2026

साम्बाले साफको पहिलो खेल गुमाउने!


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले विहीबारदेखि सुरु हुने साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेल गुमाउने भएकी छिन् ।

साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल शुक्रबार भुटानसँग खेल्दा साम्बा उपस्थित नहुने पक्का भएको छ । फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई क्लबले आफ्नो लिग खेलका लागि राख्ने निर्णय लिएपछि उनी आउन नपाउने भएकी हुन् ।

साफ महिला च्याम्पियनसिपको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय विन्डोभन्दा बाहिर रहेकाले उनले उक्त खेल गुमाउने भएकी हुन् । एन्फाले आग्रह उनलाई चाडैं फुकुवा गर्न आग्रह गरेपनि क्लबले आफ्नो खराब लयमा रहेको र सावित्रा टोलीको महत्त्वपूर्ण सदस्य रहेको भन्दै फुकुवा गर्न नमानेको हो ।

शनिबार हुने खेलमा ग्वेंगाम्पले स्ट्रासबर्गको सामना गर्दैछ । लिगको ४ खेल सकिंदा ग्वेंगाम्प १२ टोलीको लिगमा अंकविहिन छ । स्ट्रासबर्ग २ अंक जोड्दै दशौं स्थानमा छ । क्लबले आफूले जित दर्ता गर्न सकिने खेल भएकाले साम्बालाई फुकुवा गर्न नमानेको आँकलन गरिएको छ ।

पछिल्लो पटक वाफ च्याम्पियनसिपको फाइनलमा पनि खेल फिफा विन्डोबाट बाहिर रहेपछि साम्बाले फाइनल गुमाउनु परेको थियो । यसपटक भने साम्बाले पहिलो खेल गुमाएपनि साफको फाइनल खेल्न पाउनेछिन् ।

यस्तै हाल संयुक्त अरब इमिरेट्सको अबुधाबी कन्ट्री क्लबमा आबद्ध रहेकी रेखा पौडेल भने नेपाल आइपुगेकी छिन् । उनी प्रतियोगिताको लागि मंगलबार विहान मात्र स्वदेश आएकी हुन् । अब भुटानविरुद्ध खेलमा उनी र रश्मी घिसिङले नेपालको आक्रमण सम्हाल्ने अनुमान रहेको छ ।

नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले टोलीको प्रशिक्षणको क्रममा साम्बा र रेखा अनुपस्थित रहेपनि त्यसै अनुसार तयारी गरिरहेको बताएका थिए । केही साता अघि सम्पन्न महिला राष्ट्रिय लिगमा सर्वाधिक गोलकर्ता रहेकी रश्मी घिसिङलाई लिएर योजना बनाएको उनले बताएका थिए । अब रेखाको आगमनले त्यसलाई थप सहज हुने अनुमान रहेको छ ।

फिफाको अन्तर्राष्ट्रिय खेल विन्डो २१ देखि ३० अक्टोबरसम्म रहेको छ । नेपालले समूहको दोस्रो खेल २१ तारिखमा माल्दिभ्ससँग खेल्नेछ । साम्बाले १९ तारिखमा आफ्नो लिग खेल खेलेर २० तारिखमै नेपाल आउने तयारी गरेको बुझिएको छ ।

नेपाल रहेको समूहमा भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् । अर्को समूहमा भारत, बंगलादेश र पाकिस्तान छन् ।

साफ महिला च्याम्पियनसिपमा नेपालको खेल:

२ कार्तिक २०८१ – १८ अक्टोबर २०२४ – साँझ ५:३० बजे – नेपाल विरुद्ध भुटान

५ कार्तिक २०८१ – २१ अक्टोबर २०२४ – साँझ ५:३० बजे – माल्दिभ्स विरुद्ध नेपाल

८ कार्तिक २०८१ – २४ अक्टोबर २०२४ – साँझ ५:३० बजे – नेपाल विरुद्ध श्रीलंका

११ कार्तिक २०८१ – २७ अक्टोबर २०२४ – सेमिफाइनल

१४ कार्तिक २०८१ – ३० अक्टोबर २०२४ – फाइनल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖