• Sunday 4th of October 2026

५० प्रतिशतले बढ्यो चामलको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । दुई महिनायता नेपालमा चामलको मूल्य ह्वात्तै बढेको छ । भारतले बासमती बाहेकको चामल निकासीमा रोक लगाएका कारण मूल्य बढेको व्यापारीको तर्क छ । तर, भन्सार कार्यालयले भने भारतबाट निर्वाध रुपमा चामल र धान आयात भइरहेको जनाएको छ ।

दुई महिना अघिसम्म किलोको ६०/६५ रूपैयाँ पर्ने चामलको मूल्य बढेर अहिले ९०/९५ रूपैयाँ पुगेको छ । चामलको मूल्य ५० प्रतिशतसम्म बढ्दा उपभोक्ता मारमा परेका छन् ।

खुद्रा बिक्रेताले चामल उद्योगले मूल्य बढाएकाले त्यसको असर बजारमा परेको बताएका छन् । चामल उद्योग सञ्चालकहरू भने भारतले निकासीमा रोक लगाउना साथ मूल्य बढेको दाबी गर्छन् । स्वदेशी उत्पादनले ६० प्रतिशत मात्रै माग मात्र धान्ने र ४० प्रतिशत भारतबाट आउने उनीहरुको भनाइ छ ।

भारतले निकासीमा रोक लगाएका कारण चामलको मूल्य बढेको उद्योगीहरुको दाबी र सरकारी तथ्यांक भने मेल खान्न । विराटनगर भन्सार कार्यालयले निर्वाध रूपमा भारतबाट धान र चामल आयात भइरहेको जनाएको छ ।

असारमा भारतबाट पाँच हजार मेट्रिक टन चामल र आठ हजार तीन सय ८१ मेट्रिक टन धान आयात भएको छ । साउनमा त्योभन्दा बढी अर्थात् ६ हजार ५२ मेट्रिक टन चामल र १८ हजार एक सय ४३ मेट्रिक टन धान आयात भएको छ ।

बजार अनुगमन र नियमनमा सरकार उदासीन हुँदा धान चामलमा उद्योगी, व्यापारीको मनोमानी देखिएको हो । आफू खुसी मुल्य बढाउँदाको मार भने उपभोक्ताले सहनु परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖