• Sunday 4th of October 2026

‘क्रिप्टो करेन्सी’मार्फत ६० किलो सुनको भुक्तानी


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ‘क्रिप्टो करेन्सी’ जोडिएको छ । सुन तस्करीमा संलग्नहरूले डिजिटल मुद्रा ‘क्रिप्टो करेन्सी’ मार्फत आर्थिक कारोबार गर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट खुलेको छ ।

क्रिप्टो करेन्सीमार्फत आर्थिक कारोबार गर्दा नोटको कारोबार हुँदैन । कारोबार गर्ने व्यक्तिको आईडीमा खाता हुन्छ । खातालाई ब्लकचेन भनिन्छ । सो ब्लकचेमा भएको डिपोजिटलाई भुक्तानीको रूपमा कारोबारीले बेच्छन् ।

हङकङबाट तस्करी गरेर ल्याएको सुनमा संलग्न आरोपमा अहिलेसम्म ७ जना चिनियाँ र एक जना बेल्जियन नागरिक सहित २५ जना पक्राउ परेका छन् । आरोपीतहरुले क्रिप्टो करेन्सीमार्फत सुनको भुक्तानी गरेको भेटिएपछि सिआईबीले प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र सिंह धामीलाई त्यसबारे अनुसन्धान गर्ने जिम्मेवारी दिएको छ । प्राविधिक तर्फका एसएसपी धामी नेपालमा क्रिप्टो करेन्सीबारे जानकार हुन् ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको अनुसन्धान गर्ने जिम्मेवारी साउन २१ मा सिआईबीलाई दिएको थियो । हङकङबाट तस्करी गरेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो । सुन प्रकरणमा संलग्नहरु विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले ‘संगठित अपराध’ मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको हो ।

गिरोहले सुन भारत पठाउन खोजेको ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

हालसम्म पक्राउ परेकाहरू : राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल र किशोर बस्नेत ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖