• Sunday 4th of October 2026

माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने गोविन्द केसीको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । डा. गोविन्द केसीले आफूहरुले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ शुरु गर्ने घोषणा गरेका छन् ।

उनले आज जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘हामीले विभिन्न मागहरु राखेर यही साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौं । ती प्रतिबद्धताहरु कार्यान्वयन नभएमा सही भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउँछौं ।’

डा. केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि आवेदन दिएका केही व्यक्ति गम्भीर अनियमिततामा मुछिएका, प्रतिष्ठान सञ्चालन गर्दा भ्रष्ट र असफल प्रमाणित पनि रहेको भन्दै स्वार्थको द्वन्द्व नभएका योग्य उम्मेदवारमात्र छनोट गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

चिकित्सा शिक्षा आयोगका वर्तमान उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीसहित ९ जना उम्मेदवारको सूची बिहीबार सार्वजनिक भएको थियो । सूची भएका निजी मेडिकल कलेजका सन्चालकहरु तथा अन्य स्वार्थ समूहहरुले पनि आयोगलाई निशाना बनाएको देखिएको डा. केसीको भनाइ छ ।

केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘चिकित्सा शिक्षा आयोग स्थापनापछिको पहिलो चार वर्षे अवधिमा अनेक खाले राजनीतिक हस्तक्षेप, पदाधिकारीहरुमाथिको आपराधिक गुण्डागर्दी र अवरोधका बाबजुद आयोगले चिकित्सा शिक्षा सुधारमा उल्लेख्य काम गर्न तथा आयोगको स्वायत्तता कायम राख्न सफल भएको छ । अब आएर भ्रष्ट वा स्वार्थको द्वन्द्व हुने व्यक्ति उपाध्यक्ष बनेमा ती सबै उपलब्धि उल्टिने जोखिम छ । त्यस्ता उमेदवार पदाधिकारीका रुपमा छानिएमा त्यसले चिकित्सा शिक्षा ऐनको परिकल्पना विपरीत नेपालको मेडिकल शिक्षालाई गुणस्तरहीन र धराशायी बनाउने जोखिम रहेको छ ।’

‘त्यसैले त्यस्ता उमेदवारहरुको सम्पूर्ण पृष्ठभूमि बुझेर आवेदन दिएकामध्ये इमान्दार छवि, र अब्बल कार्यक्षमता भएका तथा कुनै स्वार्थको द्वन्द्व नभएका योग्यतम उमेदवारहरु मात्रै छनोट गर्न र तिनमध्येबाट उपाध्यक्षको नियुक्ति गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं,’ केसीले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖