• Sunday 4th of October 2026

चार जिल्लामा खोजी गर्दा पनि अझै भेटिएनन् सेनाका मेजर पण्डित


  • धनकुटा खबर
  • .

काठमाडौ । आइतवार साँझदेखि बेपत्ता डोल्पाको सदरकमुकाम दुनैस्थित नेपाली सेनाको नन्दबक्स गणअन्तर्गत रहेको गुल्मका गुल्मपति सेनानी (मेजर) विमल पण्डितको अवस्था ६ दिनसम्म अज्ञात रहेको छ।

दुनै ब्यारेक, भदालेमा खटिएका मेजर पण्डितको डोल्पासहित छिमेकी जिल्लाहरू जुम्ला, जाजरकोट र रूकुमपश्चिममा समेत खोजी गरिएको तर उनी हालसम्म नभेटिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले शुक्रवार दिउँसो पर्दाफासलाई बताए।

उनका अनुसार मेजर पण्डितको खोजीमा ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित छ।

‘छिमेकी जिल्लाका सुरक्षा निकायसँग पनि खोजीका लागि समन्वय गरिरहेका छौं। ठाउँठाउँमा सुरक्षाकर्मी खटिएका छन्,’ प्रमुख जिल्ला अधिकारी पोख्रेलले पर्दाफाससँग भने, ‘त्रिपुरासुन्दरी नगरपालिकाका सबै क्षेत्रसहित जुम्ला, जाजरकोट, रूकुमपश्चिमसम्म खोजी गर्दा पनि अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन।’

यसअघि उनको खोजीमा परिचालित टोलीले एक महिलाको शव फेला पारेको थियो। माथिल्लाे भेरी किनारमा बेवारिसे अवस्थामा भेटिएकाे उक्त शव सुरूमा मेजर पण्डितको हुन सक्ने आशंका गरिए पनि शव निकालेर हेर्दा उनी महिला भएको खुलेको थियो।

मेजर पण्डित आफ्नो सुरक्षा गार्ड नलिई आइतवार साँझ ब्यारेकबाट निस्किएका थिए। अर्कातिर उनकाे माेबाइल फाेन पनि साेही दिनदेखि स्वीच अफ रहेकाले खाेजीमा थप समस्या भएकाे सुरक्षा अधिकारीहरूले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय, डोल्पाका अनुसार उनले आइतवार मोबाइल बैंकिङ सेवाबाट पैसाको कारोबार तथा परिवारसँग फोन सम्पर्क गरेको देखिएको छ।-पर्दाफास

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖