हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानको उत्तरतिर अवस्थित र पूर्वी भू-भागमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नेपालको मौसम प्रणालीमा बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको महाशाखाले बताएको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ।
राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
