• Sunday 4th of October 2026

श्रीलङ्काबाट बालेनले भने- सरकारले जग्गा उपलब्ध गराए महानगरले रंगशाला बनाउन पहल गर्छ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका काठमाडौं महानगरका मेयर बालेन शाहले क्रिकेट रंगशाला बनाउन महानगर तयार भएको बताएका छन् ।

सरकारले महानगरभित्र वा आसपास १ सय रोपनी जग्गा उपलब्ध गराए महानगरले रंगशाला निर्माण गर्ने बताएका हुन् ।

अहिले एसिया कपका खेल भइरहेका श्रीलंकाका रंगशाला त्रिवि क्रिकेट मैदान जस्तै भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढी सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद ।’

यस्तो छ उनकाे स्टाटस

फ्यानको रूपमा क्रिकेट हेर्न श्रीलङ्का पुग्दा श्रीलङ्काको अध्यागमन (Immigration) को कर्मचारीको प्रश्न थियो, “यति धेरै नेपालीहरू एक्कासि श्रीलङ्का किन आइरहेका छन् ?” श्रींलंकाको अध्यागमन चकित पर्ने गरिको संख्यामा नेपालीहरू त्यहाँ पुग्दै थिए ।

त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरूको संख्या १५०० देखि २००० को बिचमा थियो । नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलङ्का पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड पुग्यो होला ।

टिभीमा देखिने विराट, रोहीतहरुलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरूको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरूको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो ।

विश्वकै उत्कृष्ट खेलाडीहरूमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वाभाविक पनि थिएन । तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडीहरूको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो । ठीक त्यही बेला हामीले क्रिकेट जित्यौँ ।

अन्तिम नतिजा जे आए पनि हामीले यस पटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ । गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढी सुविधा ।

नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद । यसैले नेपाल सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौँ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।

यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडी र तल्लो तह (Grassroot) मा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट (Bowling Net) राख्ने प्रबन्ध पहिले नै गरी सकेको छौ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖