• Sunday 4th of October 2026

जब नेपाली खेलाडीले भारतीय बलर जडेजालाई खेलअघिको तालिकाबारे सोधे


  • धनकुटा खबर
  • .

एसिया कप २०२३ अन्तर्गत नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्‍यो। भारतसँग निडर ब्याटिङ गरेको नेपाली टिमको अहिले प्रशंसा भइरहेको छ।
भारतसँगको खेलले नेपाली क्रिकेटलाई विश्व क्रिकेटमा एक्सपोजर मिल्ने कतिपयको विश्वास छ। भारतीय क्रिकेट विश्लेषक आकास चोपडाले त भारतले ‘ए’ टिमलाई नेपालसँग खेल्न पठाउनु पर्ने र भारतको घरेलु संरचनामा नेपाललाई पनि स्थान दिनुपर्ने धारणा राखेका छन्।
खेलमा नेपालका ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट खेलेपछि नेपालले राम्रो सुरूवात गर्न सफल भएको थियो। भारतीय बलरविरूद्ध नेपाली ब्याट्सम्यानले आफ्ना उत्कृष्ट सर्ट खेलेका थिए।

श्रीलंकाको पल्लेकेलेमा पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदा २३० रन जोडेको थियो। वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेर सुपर फोरमा स्थान पक्का गर्‍यो।
खेलमा नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३८ रन जोडेका थिए। उनले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरे।

आसिफले अर्धशतक प्रहार गर्न सफल भए। एसिया कपमा तथा भारतविरूद्ध पहिलो अर्धशतक बनाउने इतिहास बनाएका आसिफले ९७ बलमा ८ चौका हिर्काए। यस्तै गुल्सन झाले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन, दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका नै प्रहार गर्दै २९ रन र सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्काको मद्दतमा ४८ रन जोडे।

मोहमद सामी, मोहमद सिराज, रविन्द्र जडेजा, कुलदिप यादव र हार्दिक पाण्ड्या जस्ता विश्वस्तरीय बलरविरूद्ध नेपाली ब्याटरले राम्रो खेल्दा क्रिकेट जगतमा चर्चा कमाउन सफल भए। खेलमा भारतका मुख्य स्पिनर कुलदिप यादवले नेपाली ब्याटरको विकेट लिन सकेनन्।
खेलमा भारतका लागि स्पिनर रविन्द्र जडेजाले १० ओभर बलिङ गर्दा ४० रन खर्चिए भने ३ विकेट लिन सफल भए। खेलपछि उनले १० विकेटको जितले भारतीय खेलाडीको आत्मविश्वास बढ्ने बताए।

‘१० विकेटले जित्दा हाम्रो आत्मविश्वास बढ्छ। किनभने हाम्रा लागि ठूला खेल आउँदैछन्,’ उनले भारतीय क्रिकेट नियन्त्रण बोर्डसँग नेपालसँगको खेलबारे कुरा गर्दै भनेका छन्, ‘मैले लिएका तीन विकेट राम्रा थिए। बल धेरै घुमिरहेको थिएन। कुनै-कुनै भने घुमिरहेको थियो।’
नेपालसँग पहिलोपटक खेल्दा नेपालले राम्रो सुरूवात गरेको पनि उनले बताए।

‘हामी नेपालसँग पहिलोपटक खेल्दै थियौं। नेपालका ब्याटसम्यान कहाँ र कस्तो सर्ट हान्छन् भन्ने थाहा थिएन। उनीहरूको बलियो पक्ष पनि थाहा थिएन। जसका कारण उनीहरूले १० ओभरमा एकदमै राम्रो सुरूवात गरेका थिए,’ जडेजाले भने।
१० ओभरपछि भने खेललाई नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ।

‘पहिलो १० ओभरपछि मसहितका स्पिनरले बलिङ गर्‍यौं। त्यसपछि हामीले विस्तारै खेल नियन्त्रणमा लियौं। किनभने स्पिनरको बलमा मिडल ‍ओभरमा प्रहार गर्न सजिलो थिएन। ब्याटमा बल आइरहेको थिएन। तर तीव्र गतिका बलरको बल भने ब्याटमा आइरहेको थियो,’ उनले भने।
उनले नेपाली खेलाडीहरूसँग खेलपछि कुराकानी भएको पनि बताए। जहाँ नेपाली खेलाडीहरूले उनलाई खेलअघिको तालिकाबारे सोधेका थिए।
‘उनीहरूले खेलअघिको हाम्रो रूटिन कस्तो हुन्छ भनेर सोधेका थिए। ठूला खेल खेल्नुअघि हामी अघिल्लो दिन के सोच्छौं भनेर सोधेका थिए,’ जडेजाले भने, ‘मैले आफ्नो नर्मल रूटिन नै फलो गर्छु भनेर जवाफ दिए। गीत सुन्छु, आफूलाई मन पर्ने भिडियो हेर्छु भने। अनावश्यक दबाब नलिने पनि उनीहरूलाई बताए। ठूला टिमसँगको ठूला खेलअघि दबाब लिन नहुनेबारे भने। आफूलाई जे मन पर्छ त्यहिँ रूटिङ बनाउनु पर्छ भनेर नेपाली खेलाडीलाई जवाफ दिए।’

नेपालका कप्तान रोहितकुमार पौडेलले पनि भारतीय कप्तान रोहित शर्मा र ब्याट्सम्यान विराट कोहलीसँग खेलअघि छोटो कुराकानी भएको बताएका थिए।

खेलअघि ड्रेसिङ रूपमा नेपाल र भारतका खेलाडीबीच भेटघाट भएको थियो। जसमा नेपाली खेलाडीले चासोका साथ भारतीय खेलाडीसँग कुराकानी गरेका थिए। भारतका प्रशिक्षक राहुल द्रविडले पनि नेपाली खेलाडीसँग कुराकानी गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖