काठमाडौं । सुन तस्करी प्रकरणमा प्रहरीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन माथि पनि छानबिन सुरु गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पुनलाई बोलाएर बयान लिएको छ । महाराजगञ्जस्थित सीबीआईको कार्यालयमा पुगेर पुनले बयान दिनुभएको छ ।
त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलबाट बाहिर निकालिएको ६० किलो बढी सुन तस्करी प्रकरणमा छानबिनका क्रममा व्यक्तिसँग पुनको सम्बन्ध जोडिएको पाएपछि प्रहरीले छानबिन सुरु गरेको हो । बयान लिएर छाडिएका पुनको उनीहरूसँग संलग्नताका आधार देखिएमा प्रहरीले गिरफ्तार गरेर अनुसन्धान सुरु गर्ने छ ।
सो प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले ६ विदेशी नागरिकसहित २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङ माओवादीको प्रत्यक्ष संरक्षणमा रहेको पुष्टि भइसकेको छ । दावाले नेपाली नागरिकता समेत लिएको पुष्टि भएको छ । उहाँले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गर्नुभएको माओवादीका उच्चस्तरका नेतासँग दैनिक उठबस हुने गरेको पाइएको छ ।
सो सुन तस्करीसँग सम्बन्ध जोडिएको विद्युतीय चुरोट मार्फत ९ किलो तस्करी प्रकरणमा अनुसन्धानको लागि पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पनि प्रहरी हिरासतमा हुनुहुन्छ । सो सुन काण्डमा महराका बाबु छोरा नै जोडिएका भए पनि कृष्णबहादुर महरालाई भने प्रहरीले उन्मुक्ति दिँदै आएको छ ।
